Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री

Zenith Migration Education

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रुपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत् उनले भनिन्, “परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एकबर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरुमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।”

मन्त्री डा राणाले गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरु, जि७७ प्लस, जि२०, एलडिसी समूह लगायतका बैठकहरुलाई सम्बोधन गर्ने क्रममा पनि विपिन रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

त्यसैगरी गत असोजमा दोहामा आयोजित एसिडी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरुमा पनि उनले सो विषय उठाएकी थिइन् । इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरुसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरुसँग भेटेरै विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरु रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएकी थिइन् ।

उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरिन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुन् ।

मन्त्री डा राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी सोही आग्रह गरिन् । हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह उनले विदेशमन्त्रीसँग गरेकी थिइन् ।

त्यसैगरी उनले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट आग्रह गरिन् । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहनुभएकी मन्त्री डा राणाले त्यहीँबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् ।

त्यसैगरी उनले गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी बिपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिइन् । त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि मन्त्री डा राणाले सो अनुरोध गरेकी थिइन् ।

उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् ध्यानाकर्षण गराएको जानकारी पनि दिएकी छन् ।

मन्त्री डा राणाले नेपाल सरकारले यो मुद्दालाई प्राथमिकतामा राखेर हरसम्भव प्रयासमा जुटिरहेको बताउँदै बिपिनको रिहाइमा लागिपरेको इजरायल सरकार, इजरायली नागरिक, त्यहाँ रहेका नेपाली एवं विश्व समुदायलाई विशेष धन्यवाद ज्ञापन गरेकी छन् ।

हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको र यो नेपाल सरकारको दायित्व हो भन्दै उहाँले हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल पुगेका र उनले इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल गरेका जानकारी पनि गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु