काठमाडौँ । प्रहरीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरमा विद्यार्थी सङ्गठनका उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यलगायत करिब १६ जनालाई पक्राउ गरेको छ ।
त्रिविमा विद्यार्थी सङ्गठनले गरेको रिले अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ भने १६ जनालाई पक्राउ गरेको खिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले जानकारी दिए ।
सोमबार शुल्क वृद्धिको विरोधमा आन्दोलनरत नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को अनसनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
क्रान्तिकारीले उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्ष (रेक्टर) को कार्यालयमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा कीर्तिपुर जिल्ला क्याम्पस कमिटीकी जिल्ला इन्चार्ज ममता जोशी घाइते भएकी छन् । उनलाई कीर्तिपुरस्थित अस्पतालमा भर्ना गरिएको छ ।
अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता र विश्वविद्यालयका सबै कार्यक्रममा समान शुल्क लागू गर्नुपर्ने माग राख्दै १९ दिनदेखि रिले अनशन गरिरहेको छ । सोही आन्दोलनको क्रममा आज प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको यादवले बताए ।




