काठमाडौँ । रोजगारीको खोजीमा विदेश गएका नेपाली कामदारले आफ्नै ज्यान लिने घटना बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि गएका नेपालीमध्ये मृत्यु हुनेको सङ्ख्या वर्षेनी उकालो लागेको छ ।
प्रत्येक वर्ष रोजगारीमा पुगेका कामदारहरुले आत्महत्याबाट जीवन गुमाइरहेका छन् ।
घर परिवारको बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, विदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँदा र नेपाल फर्केर गरीखाने उपयुक्त आधार पनि नदेख्दा धेरैजसो नेपाली कामदारहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ ।
आबुधावीस्थित नेपाली दूतावासको तथ्याङ्क अनुसार सन् २०२४ मा २७४ जना नेपालीहरूको मृत्यु भएको थियो जसमा स्वाभाविक मृत्यु हुनेको सङ्ख्या १६० रहेको छ भने ४३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै दुर्घटनामा परेर ३५ जनाको मृत्यु भएको छ ।
सन् २०२५ को जनवरी महिना यतामात्रै १६९ जनाको मृत्यु भएकोमा २५ जनाले आत्महत्या गरेको दूतावासकी नियोग उपप्रमुख रञ्जिता दाहालले बताइन् । अहिले मानसिक स्वास्थ्य समस्या र आत्महत्या दर बढिरहेको देखिएको उनी बताउँछिन् ।
त्यसरी बढ्नुमा त्यहाँ पुग्ने नेपालीको अपेक्षा अनुसार काम र सेवा सुविधा नरहनु र नेपालबाटै ऋणमा आएका कारण आर्थिक बोझ पनि रहनु जस्ता कारणहरू रहेको उनले बिबिसीलाई बताइन् ।
उनले भनिन्, “केही कम्पनीको दूतावासमा अटेस्ट गरिने कन्ट्र्याक्टमा भएको माग र नेपालका एजेन्सीहरूले भन्ने जागिरको विवरण फरक हुने गरेको छ । हाम्रा मानिसहरूले नहेरी हस्ताक्षर गर्नुहुन्छ । त्यसलै भने अनुसार काम र तलब यहाँ आएपछि हुँदैन ।’’
यसरी कतिपय मानिसहरूले जागिरको वास्तविक सम्झौताभन्दा फरक सम्झौता बुझेर नेपालबाट आउने र काम गर्ने कम्पनीमा गइसकेपछि जागिरको प्रकृति र पाउने तलब धेरै नै फरक हुने कारणले नेपालीहरूले जागिर छोड्ने गरेको पनि उनले बताइन् ।
त्यसरी जागिर छोडेपछि अर्को जागिर नपाएको अवस्थामा वैदेशिक रोजगारीमा जानेहरू मानसिक तनावमा पर्ने गरेको उनले बताइन् ।
“नेपालबाट धेरै ऋणमा आउनुभएको हुन्छ अपेक्षा अनुसार नभएपछि तनावमा जानुहुन्छ । कम्पनी छोडेर हिँड्ने गर्नुहुन्छ । प्राय कम्पनीले नै बस्ने व्यवस्था गरिदिने हुनाले अर्को जागिर नपाउँदासम्म कोठा भाडा लिएर बस्न पनि महँगो पर्छ ।’’
त्यसरी बीचमै जागिर छोडिदिँदा भोलि दाबी गर्न पनि समस्या हुने गरेको उनले बताइन् ।
त्यसबाहेक बिना श्रम सम्झौता कागज बिना नै केवल भिजिट भिसामा गएर काम गर्ने मानिसहरूको हकमा दूतावासले आर्थिक लगायत कारणले उद्धार गर्न नसक्ने उनले बताइन् ।
कतिपय अवस्थामा नेपालीहरू पहिला नै केही मानसिक स्वास्थ्य समस्या भएर गन्तव्य देशमा पुगेका र त्यहाँ नेपालमा जस्तो चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि नपाउने गर्दा पनि समस्या हुने गरेको पत्रकार पाण्डे बताउँछन् ।
“नेपालबाटै बोकेर ल्याएको पीडाले उनीहरूलाई टोकिरहँदो रहेछ। त्यसरी प्रताडित हुने पछिल्लो समय एकदमै बढी छन्,’’ उनले भने ।
पूर्वी नेपालकी एक २६ वर्षीया महिलामा एङ्जाइटी डिसअर्डर भएको र औषधिले सुधार गरिरहेका कारण निरन्तर लिनुपर्ने विवरणसहितको पत्र काठमाडौँस्थित एक अस्पतालका कन्सल्टेन्ट साइकियाट्रिस्टले लेखिदिए । तर ती महिलाले गन्तव्य देशमा त्यस्तो पत्रका आधारमा उक्त औषधि किन्न पाइनन् र उनको समस्या बल्झियो ।



