Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

बागमती नगरप्रमुख थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

Zenith Migration Education

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

बुधबार विशेष अदालतका न्यायाधीश अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो ।

अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानि नोक्सानी गरेको पुष्टि गरेको छ ।

अदालतले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यही साउन २९ गते पेशी तोकेको छ । त्यसैगरी, प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोप अनुसारको कसुर प्रमाणित नदेखिएकाले सफाइ दिएको छ ।

अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ । थापाको सम्पूर्ण आय र व्यय मूल्याङ्कन गर्दा उनको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकोमा कुल व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ ।

यसअनुसार थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणित भएकोले उनलाई एक वर्ष कैद र त्यति नै बराबरको जरिवाना हुने ठहर अदालतले गरेको छ । सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने पनि अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु