लाग्रास (फ्रान्स) । फ्रान्सको दक्षिणी क्षेत्रमा फैलिएको एक भीषण डढेलोलाई नियन्त्रणमा लिन सयौं अग्निनियन्त्रकहरू खटिएका छन् । उक्त आगलागीबाट एक जना नागरिकको ज्यान गएको छ भने नौ जना घाइते भएको पुष्टि गरिएको छ ।
अड प्रिफेक्चरकी महासचिव लुसी रोएस्चका अनुसार, “डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन र हालको मौसमीय अवस्था—खडेरी, तीव्र गर्मी र हावाका कारण स्थिति प्रतिकूल बन्दै गएको छ ।”
उक्त डढेलो मङ्गलबार सुरु भएको हो र यसले हालसम्म अड क्षेत्रका कम्तीमा २५ घरमा क्षति पुर्याएको छ । करिब दुई हजार अग्निनियन्त्रक उक्त आगो निभाउने कार्यमा निरन्तर जुटिरहेका छन् । यो डढेलो यस वर्षको फ्रान्समा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको जनाइएको छ ।
एक ज्येष्ठ महिलाको आफ्नै निवासमा ज्यान गएको पुष्टि गरिएको छ । एक जना अझै बेपत्ता छन् । दुई जना घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । साथै, सात जना अग्निनियन्त्रकहरू धुवाँको कारण घाइते भएका छन् ।
अहिलेसम्म करिब १२ हजार हेक्टर (२७ हजार एकड) क्षेत्रफल आगलागीबाट प्रभावित भएको बताइएको छ ।
रोएस्चले भने, “डढेलो त्यस्ता क्षेत्रमा फैलिँदैछ जहाँ प्राकृतिक अवस्था आगो फैलिन अनुकूल छन् । यसलाई नियन्त्रणमा लिन केही दिन लाग्ने सम्भावना रहेको छ ।”
डढेलोको जोखिमका कारण केही क्याम्पिङ स्थलहरू र कम्तीमा एक बस्ती आंशिक रूपमा सुरक्षित स्थानमा सारिएको छ भने केही सडकहरू पनि अस्थायी रूपमा बन्द गरिएका छन् ।
५१ वर्षीय डेविड सेर्दानले, “मैले सबै वस्तुहरू पछि छोडेर सुरक्षित स्थानतर्फ प्रस्थान गर्नुपर्यो,” भन्दै घटनाप्रति दुःख व्यक्त गरे । उनी सान्त–लोरेन्ट–दे–ला–काब्रेरिसका बासिन्दा हुन्, जहाँ एक महिलाले घर नछोड्ने निर्णय लिएपछि उनको निधन भएको जनाइएको छ ।
सेर्दानले थपे, “मेरो भाग्य राम्रो मान्छु, किनकि मेरो क्षति केवल भौतिक हो ।” प्रधानमन्त्री फ्राँस्वा बायरू र गृहमन्त्री ब्रुनो रेटाइयोले आज अड क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । “मानिसहरूले सबै कुरा गुमाइरहेका छन् ।”
फ्रान्सको आपतकालीन सेवा अनुसार, यस गर्मीमा मात्रै करिब नौ हजार साना ठूला डढेलोका घटनाहरू भइसकेका छन् ।
राष्ट्रपति इमानुएल माक्रोंले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सम्पूर्ण जनशक्तिहरू परिचालन गरिएको जानकारी दिनुहुँदै सबै नागरिकलाई ‘अत्यधिक सावधानी अपनाउन’ आग्रह गरेका छन् ।
अड क्षेत्रमा पछिल्ला वर्षहरूमा डढेलोबाट प्रभावित क्षेत्रको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । यसमा कम वर्षा र अङ्गुरका बगैंचाहरूको हटाइको कारणले आगो फैलिन सजिलो बनाएको बताइएको छ ।
फाब्रेजान नगरकी स्थानीय बासिन्दा ओद डामेसिनले वर्तमान परिस्थितिलाई दुःखद् भन्दै भने, “गर्मी सुरु भएदेखि यति धेरै आगलागीका घटनाहरू देख्दा मन दुःखी हुन्छ । यो वनस्पति, वन्यजन्तु तथा घरजग्गा गुमाइरहेका मानिसहरूका लागि अत्यन्त पीडादायी अवस्था हो ।”
युरोपेली संघको कोपर्निकस जलवायु अवलोकन संस्थानका अनुसार, यस वर्षको प्रारम्भदेखि हालसम्म फ्रान्समा करिब २४ हजार हेक्टर भूभाग आगलागीबाट प्रभावित भइसकेको छ । यो सङ्ख्या सन् २०१९ र २०२२ का अभिलेखीय डढेलोहरूसँग तुलना गर्दा भने कम रहेको जनाइएको छ ।



