मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनिया बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार बाँनियालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बाँनियाले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थनसहित मुख्यमन्त्री बन्नका लागि दाबी प्रदेश प्रमुख समक्ष पेश गरेका थिए । मुख्यमन्त्री बाँनियाको सपथ आजै साँझ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
इन्द्रबहादुर बानियाँ को हुन् ?
ईन्द्रबहादुर बानियाँ नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय, खरो स्वभावका र स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित नाम हो । पार्टी भित्र निरन्तर संगठित रुपमा अगाडि बढ्दै आएका बानियाँ अहिले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
उनको राजनीतिक यात्रा, सामाजिक सक्रियता र नेतृत्व क्षमताले उनलाई प्रदेश राजनीतिमा अग्रपंक्तिको नेतृत्वमा पुर्याएको छ ।
स्व। क्षेमबहादुर बानियाँ र माता प्रेमकुमारी बानियाको कोखबाट २०२७ साल भदौं १५ गते मकवानपुरको हर्नामाडी–४, दियावतीमा जन्मेका बानियाँ हाल हेटौँडा–५ सानोपोखरा र ललितपुरको धापाखेल–१ मा बसोबास गर्दै आएका छन् । बानियाँले आफ्नो राजनीतिक यात्रा २०४४ सालमा सुरु गरे । त्यसपछि २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भए ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला सहसचिव, २०५५ सालमा नेपाल तरुण दलमकवानपुरका सचिव र २०५६ सालमा तरुण दलजिल्ला अध्यक्ष बने । सोही वर्षदेखि नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा रहँदै आएका छन् ।
२०५८ सालमा पार्टीको जिल्ला सदस्य बन्नु भएका बानियाँ २०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भए । २०७० मङ्सिर ४ गतेको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित भए ।
बानियाँ २०७२ सालेदेखि २०७९ सम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापतिको भूमिकामा रहेका थिए । बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री नियुक्त भए । सोहीवर्ष नै गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हाले ।
२०७४ मङ्सिर २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष निर्वाचित भई प्रदेशसभा प्रवेश गरे । त्यसपछि २०७४ पुस ३ गते कांग्रेस बागमती प्रदेश संसदीयदलको नेतामा सर्वसम्मत रूपमा चयन भए । २०७८ साल मङ्सिर २० गतेदेखि हालसम्म नेपाली कांग्रेस बागमती प्रदेश सभापति हुन् । बाँनिया २०७९ मङ्सिर ७ गते प्रदेश सभा सदस्यमा पुनःनिर्वाचित भए । २०८२ साउन १४ गते उहाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीयदलको नेतामा निर्वाचित भए ।
राजनीतिक जीवनसँगै बानियाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर निर्माण व्यवसायी संघका सल्लाहकार, त्रिखण्डेश्वर महादेव संरक्षण तथापर्यटन विकास समितिको अध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको कार्यसमिति सदस्य र छात्रवृत्ति समितिको संयोजकको जिम्मेवारी सम्हालि सकेका छन् ।
बानियाँ स्पष्टविचार र खरो अभिव्यक्तिका लागि चिनिने नेता हुन् । आफ्नै दलका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नेतृत्व परिवर्तन गराउन सफल बन्नु उनको राजनीतिक परिपक्वताको प्रमाण हो । सङ्गठन निर्माण, जनसम्पर्क र लोकतान्त्रिक अभ्यासमा उनको पकड बलियो छ ।




