काठमाडौँ । यही साउन १९ गते पोखरा पुगेका हायु परिवार सिन्धुली फर्किने भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका हायु परिवारका १६ जना सदस्य पोखरा पुगेका थिए । पोखरा आएका उनीहरुको सिन्धुली नफर्किने अडान लिएका थिए । उनीहरूलाई सोमबार सिन्धुली फर्काउन लागिएको हो ।
गोलन्जोर गाउँपालिका–६ वडाध्यक्ष रविन श्रेष्ठका अनुसार सिन्धुली फर्किए पनि उनीहरूले आफ्नो पुरानो घरमा भने फर्किने छैनन् ।
सिन्धुली फर्किएका उनीहरूलाई केही दिन आफ्नो घरमै राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । उनले अन्त कतै आवास बनाइदिएर स्थानान्तरण गर्ने उल्लेख गरे ।
यसैगरी, सिन्धुलीबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका दुई जनालाई रोजगार दिलाइदिने प्रतिबद्धता जनाएको वडाध्यक्ष श्रेष्ठले बताए ।
यस्तै ऋण तिर्ने कुरामा पनि वडाले सहजीकरण गर्ने उनको भनाइ छ ।
हायु परिवार घरमा बच्चा बच्ची धेरै बिरामी भएको भन्दै घर नफर्किने अडानसहित पोखरा आएका थिए ।



