Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

गाजामा झन्डै एक तिहाइ जनसङ्ख्या चरम भोकमरीमा

Zenith Migration Education

रोम । युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसङ्ख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ । उक्त निकायले गाजाको अवस्था ‘अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो । इजरायलको कारबाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो ।

डब्लुएफपीको विज्ञप्तिमा भनिएको छ, “तीन जनामध्ये झन्डै एक जना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन् । कुपोषण तीव्र रूपमा बढिरहेको छ, जसअनुसार झन्डै ९० हजार महिला र बालबालिका तुरुन्तै उपचारको खाँचोमा छन् ।”
संस्थाले अझ भन्यो, “यो वर्षको मेदेखि सेप्टेम्बरसम्म करिब चार लाख ७० हजार मानिस चरम भोकमरीको अवस्थामा पुग्ने अनुमान गरिएको छ, जुन खाद्य सुरक्षाको सबैभन्दा डरलाग्दो स्तर हो ।”

“अत्यधिक महङ्गो भएका कारण बजारबाट खानपिन खरिद गर्न सकिने अवस्था छैन । मानिसहरूले राहतबाट प्राप्त हुने खानेकुरामा मात्र भर पर्नुपर्ने अवस्था छ,” डब्लुएफपीले उल्लेख गरेको छ ।

“मानवीय सहायता अभावकै कारण मानिसहरू ज्यान गुमाइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ । इजरायलले गएको मार्च महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा रोक लगाएको छ, जसका कारण बालबालिकामा कुपोषणको अवस्था झनै गम्भीर बन्दै गएको विभिन्न राहत संस्थाहरूले चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु