काठमाडौँ । पछिल्लो केही समयदेखि नेपालमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अनुसार पछिल्लो २४ घण्टामा सात जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो एक हप्तामा मात्रै ४० नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै, गएको पुसदेखि हालसम्म तीन सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । हालसम्म देशका ३९ जिल्लामा कोभिडका बिरामी भेटिएकाको ईडिसिडीले जनाएको छ ।
बागमती प्रदेश बढी प्रभावित भएको पाइएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या हालसम्म २४५ जना पुगेको छ । बागमतीमा पछिल्लो सात दिनमा २३ जना थपिएका छन् ।
यसैगरी, कोशी प्रदेशमा आठ, गण्डकी र लुम्बिनीमा तीन–तीन, मधेशमा दुई र कर्णालीमा एक जना नयाँ सङ्क्रमित थपिएका छन् । सुदूरपश्चिम प्रदेशमा भने पछिल्लो एक हप्तामा नयाँ केस पुष्टि भएको छैन ।



