Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

एनआरएनए निर्वाचन : अष्ट्रेलिया राष्ट्रिय महिला संयोजक पदमा अधिकारीको उम्मेदवारी घोषणा

Zenith Migration Education

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि राष्ट्रिय महिला संयोजक (नारीनिकुञ्ज) पदमा रिज्नू अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन् । अष्ट्रेलियामा सक्रिय समुदायसेवी तथा महिलाको हक, सम्मान र सशक्तिकरणका लागि लामो समयदेखि क्रियाशील अधिकारीले सामाजिक समावेशिता, महिला नेतृत्व विकास र सेवा भावनालाई आफ्नो अभियानको मूल मन्त्र बनाउँदै उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।

अधिकारी हाल दक्षिण अष्ट्रेलिया राज्य नारीनिकुञ्जकी संयोजकका रूपमा क्रियाशील छिन् । सन् २०२१ देखि २०२३ सम्म उनले सोही संस्थामा महिला सदस्यको रूपमा कार्य गर्दै विभिन्न कार्यक्रम तथा पहलकदमीमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । उनले एनआरएनएको विभिन्न तहमा महिलाको सहभागिता सुनिश्चित गर्न, युवती तथा नयाँ महिला आप्रवासीहरूसँग सहकार्य बढाउन र समग्र महिला कल्याणमा काम गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेकी छन् ।

महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्दै निर्णायक तहसम्म पुर्‍याउने, समावेशी र जिम्मेवार नेतृत्व निर्माण गर्ने, सशक्तिकरण, सीप विकास र करियर सहयोग, व्यावसायिक, सामाजिक तथा सांस्कृतिक रूपमा सक्षम बनाउने कार्यक्रम सञ्चालन, मानसिक स्वास्थ्य, उद्यमशीलता र करियर विकासमा केन्द्रित तालिम र सहयोग गर्ने उनको प्रमुख प्रतिबद्धता र कार्यदिशा रहेको छ ।

त्यसै युवती, छात्रा र नयाँ आप्रवासी महिलासँग सहकार्यः नयाँ पुस्ताका महिलालाई नेतृत्व, मार्गदर्शन र नेटवर्किङका अवसरहरू प्रदान गर्ने, महिला सञ्जाल विस्तार, एकता र सहकार्य प्रवद्र्धनः राज्य र राष्ट्रिय स्तरमा महिला नेटवर्कको सुदृढीकरण र पारस्परिक सहयोगको प्रवर्धन गर्ने प्रतिबद्धता उनको छ ।

स्वास्थ्य, घरेलु हिंसा र समग्र महिला कल्याणः स्तन क्यान्सर, मानसिक स्वास्थ्य लगायतका विषयमा सचेतनामूलक अभियान; घरेलु हिंसासम्बन्धी सेवा केन्द्र, हेल्पलाइन र कानुनी जानकारीको पहुँच सुनिश्चित गर्दै अष्ट्रेलिया तथा नेपाल दुवै स्थानमा स्वास्थ्य र कल्याण केन्द्रित कार्यक्रम विस्तार, नेपालस्थित संघ–संस्थासँग सहकार्यः नेपालका महिला अधिकार, शिक्षा र उद्यमशिलता प्रवद्र्धक संस्थाहरूसँग सहकार्य गर्दै ग्रामीण र शहरी क्षेत्रमा समेत योगदान पुर्‍याउने प्रतिबद्धता गरेकी छिन् ।

उम्मेदवारीसँगै उनले अष्ट्रेलियाभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा साथीहरूलाई सुझाव, साथ र समर्थनका लागि आग्रह गरेकी छन् । महिलाको हक, अधिकार र सहभागितालाई सशक्त बनाउने यो यात्रामा सबैको साथ र सहकार्य अपेक्षित रहेको अधिकारीको भनाइ छ । रिज्नू अधिकारीको उम्मेदवारीसँगै एनआरएनए अष्ट्रेलियामा महिला नेतृत्व र समावेशी सहभागिताका लागि एक सशक्त र दूरदर्शी बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु