Saturday, May 9, 2026
Zenith Migration Education
Saturday, May 9, 2026

मार्की होम नवाज कप २०२५ फुटबलको उपाधि सेन्ट जर्ज फुटबल क्लबको पोल्टामा

Zenith Migration Education

सिड्नी । सिड्नीको प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा चिनिएको नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज फुटबल क्लबले हात पारेको छ । जुलाई ६ मा Horlyck Reserve, Byrnes Street, South Granville, NSW 2142 मा भएको फाइनलमा प्रतियोगिताको एक योग्य दावेदार बेनी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै सेन्ट जर्जले उपाधि हात पारेको हो ।

करीब दुई महिना लामो चलेको प्रतियोगिताको फाइनल सोचे अनुरुप भने हुन सकेन् । निकै प्रतिस्पर्धात्मक हुने विश्वास गरिए पनि सेन्ट जर्जले प्रारम्भदेखिनै खेलमा पकड जमाउदै खेलमा आधिपत्य कायम गर्दै सहजै उपाधि चुमेको थियो । राष्ट्रिय टोलीका केहि अनुहारसहित मैदानमा उत्रेका दुबै टोली सुरुआतमा भने एक अर्कामा हाबी देखिएता पनि कमजोर रक्षा पङ्क्ति र आपसी तालमेलको अभावमा बेनी फुटबल क्लब उपाधिरक्षामा फीतलो साबित भएको देखिन्थ्यो ।

सेन्ट जर्जका तर्फवाट असिम थापाले दुई, रुपबहादुर लामा र सुदिप श्रेष्ठ(डार्बिन)ले एक – एक गोल गर्दै खेल एकपक्षीय पारेका थिए ।

यसअघिका प्रतियोगितामा हावी रहँदै आएको बेनी फुटबल क्लब आपसी तालमेल र कमजोर रक्षा पङ्क्तिका कारण दबाबमा परेको थियो । यसैको फाइदा उठाउँदै सेन्ट जर्जले एकपछि अर्को गोलगर्दै खेलको नतिजा सहजै आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगितामा रुपबहादुर लामाले सर्वाधिक आठ गोल गरेर सर्वाधिक गोलकर्ता ट्रफि, १०० डलर नगद पुरस्कार पनि जिते र उनैले उत्कृष्ट खेलाडीको उपाधि हात पारे र ट्रफि र १०० डलर नगद पुरस्कार पनि जित्न सफल भए भने सेन्ट जर्जकै निश्चल ठकुरी उत्कृष्ट गोलरक्षक घोषित भए र उनले ट्रफि र १०० डलर नगद पुरस्कार पनि जिते ।

खुला उमेर समूहमा तेश्रो स्थानका लागि भएको खेलमा द राइजिंग गोरखाज़ले वेस्ट यूनाइटेड फुटबल क्लबलाई ३-२ ले पराजित गरेर उपाधिसहित ट्रफि र ६०० डलर नगद पुरस्कार जित्न सफल भए ।

यस्तै, प्रतियोगिताको भेट्रानतर्फ माकार्थर नेपलीज फुटबल क्लबले प्यारा पार्क फुटबल क्लबलाई पराजित गर्दै उमेर समूहको उपाधिसहित ट्रफि र १२ सय डलर नगद पुरस्कार जित्न सफल भए । नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर जुमानु राईसहित मैदानमा उत्रेको प्यारा पार्क फुटबल क्लबले खेलमा कुनै चमत्कार देखाउन सकेन । फलस्वरुप उनिहरु उपविजेतामै सिमित बनेका थिए । प्यारा पार्क फुटबल क्लबले रनर अप ट्रफि र ६०० डलर नगद पुरस्कारमा सन्तोष माने ।

प्रतियोगिताको समाप्तिपछि नेपालबाट पारिवारिक भेटघाटमा अष्ट्रेलिया आइपुगेका दुई नेपाली फुटबल अभियन्ता दिलीप राइ र बसन्त अर्याललाई नवाजकातर्फवाट अध्यक्ष चिरन तिवारीले सम्मान गरेका थिए ।

कार्यक्रमको समाप्तिपछि बोल्दै एनएसडब्लु राज्यका वाणिज्यदूत संजिव शर्माले खेलकुद प्रतिस्पर्धा मात्र नभइ आपसी भाइचाराको पनि माध्यम भएकाले यसले अनुशासनको दायरामा राख्ने हुँदा कुलतबाट टाढा राख्न समेत मद्दत पुग्ने बिचार व्यक्त गरे । शर्माले जुवा, लागू पदार्थजस्ता कुलतमा फसेर बिग्रनवाट बच्न खेलुकद उपयुक्त माध्यम समेत रहेको हुँदा यस्ता प्रतियोगिताहरु महत्त्वपूर्ण रहेको बताए । समापन समारोहमा बोल्दै NAWS का अध्यक्ष चिरन तिवारीले MarkQ Home NAWS soccer Cup 2025 ले नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने कार्य गरेको बताउँदै खेलले केवल मनोरञ्जन मात्र होइन, अनुशासन, समर्पण र सहयोगको भावना पनि विकास गर्ने बताए ।

म सबै प्रायोजक, नेपाली संघ-संस्था, समर्थक, खेलाडी, मिडियाकर्मी तथा आयोजक टोलीप्रति आभार प्रकट गर्न चाहन्छु । यो सफलताको श्रेय सबैको सामूहिक योगदानलाई जान्छ,” अध्यक्ष तिवारीले थपे ।

नेपाल अष्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)को २५ वर्षको विशेष उपलक्ष्यमा आयोजित प्रतियोगिताका उपाधि विजेता खेलाडीहरुलाई एनएसडब्लु राज्यका वाणिज्यदूत संजिव शर्मा र कम्बरल्यान्ड काउन्सिलका काउन्सिलर स्टिभ क्रिष्टिउ, एनआरएनका अध्यक्ष अनिल पोखरेल, महासचिव सन्तोष कुवँर प्रायोजक मार्की होम्सका इर्शाद अहमद, एन्जा अध्यक्ष कृष्ण तिवारी,ओसेनिया संयोजक दिनेश पोखरेल, प्रतियोगिता निर्देशक ANFA नेपालका पूर्व कोषाध्यक्ष डा. राजु मानन्धर, तामाङ समाजका संस्थापक पूर्व ANFA अष्ट्रेलियाका संस्थापक महासचिव अरुण तामाङ, तमु समाजका अध्यक्ष हेउपती गुरुङ, एनआरएन एनएसडब्लु सचिब कल्याण खड्का,ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेत, एक्सपर्ट एजुकेशनका कार्यकारी निर्देशक मन्जित घिमिरे, एन्फाका अध्यक्ष विजय थापा, अखिल नेपाल फुटबल संघका अष्ट्रेलिया संयोजक सुवास तामाङ, एनआरएन अभियन्ता राज गुरुङ, जिएनसी अध्यक्ष राजिव प्रधान, तामाङ रिक्रिएशनल क्लबका अध्यक्ष र फुटबल अभियंता ज्ञानक वाइवालगायतले विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोल ले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबै संघ संस्था तथा स्वयंसेवीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु