Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

ओबर्नमा दिनदहाडै गोलीकाण्ड : तीन घाइते, सुरक्षा कडा, संगठित अपराधको आशंका

Zenith Migration Education

सिड्नी — सिड्नीको पश्चिमी उपनगर ओबर्नस्थित कमनवेल्थ बैंकसँगै रहेको M Brothers Kebab Shop अगाडि आज दिउँसो दिनदहाडै गोलीकाण्ड हुँदा तीन जना गम्भीर घाइते भएका छन्। दिउँसो करिब १:१५ बजे दुई जना नकाबपोश आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा स्थानीयवासीहरूबीच त्रास फैलिएको थियो।

घटनामा २६ वर्षीय सामिमजान अज़ारी, उनका एक पुरुष सहयोगी र ५० वर्षीया महिला कर्मचारी घाइते भएका छन्। अज़ारीको हात र काँधमा गोली लागेको छ भने उनका सहयोगीको अनुहारमा चोट लागेको छ। महिला कर्मचारीको पेटमा दुई पटक गोली लागेको बताइएको छ। घाइतेहरूलाई तत्काल उद्दार गरी अस्पताल पठाइएको छ र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोलीकाण्डपछि ओबर्न एरिया कमाण्डअन्तर्गतको प्रहरी टोली घटनास्थलमा तत्काल पुगेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, “एक्कासी गोलीको आवाज सुनियो र चारैतिर हाहाकार मच्चियो। त्यसपछि प्रहरी, एम्बुलेन्स र उद्दार टोलीको चहलपहल देखियो।”

घटनास्थल वरिपरि सुरक्षा कडा पारिएको छ। हेलिकप्टरदेखि विशेष प्रहरी टिमसम्म परिचालन गरेर अनुसन्धानलाई तीव्र बनाइएको छ। ओबर्न एरिया कमाण्डका प्रहरी कमाण्डर स्वयम् घटनास्थलमा पुगेर टोलीको नेतृत्व गरिरहेका छन्। आक्रमणकारीहरू कालो BMW गाडीमा नक्कली नम्बर प्लेट राखी फरार भएका छन्। प्रहरीले सिसिटिभी फुटेज संकलन गरी फरार आक्रमणकारीहरूको खोजी गरिरहेको छ।

प्रहरीका कार्यकारी आयुक्त पिटर थर्टेलले यस्तो भिडभाडयुक्त क्षेत्रमा दिनदहाडै भएको आक्रमणलाई “अकल्पनीय” भन्दै संगठित अपराध विरुद्ध कडा कारबाहीको चेतावनी दिएका छन्। न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले राज्य सरकारले संगठित अपराध नियन्त्रणमा थप कठोर नीति अपनाउने बताएका छन्।

प्रहरीले प्रत्यक्षदर्शी वा घटनाबारे जानकारी हुने सबैलाई प्रहरीसँग सम्पर्क गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु