राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गरेकी छन् ।
शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरिन् ।
उनले नेताहरु राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानूनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको बताइन् । भएका छलफल र सहमति कार्यान्वयनमा नलैजाने हो भने समितिमा छलफल गर्नुको कुनै अर्थ नहुने उनको भनाई थियो ।
सांसद श्रेष्ठले हाल कायम रहेको विभिन्न खालका शिक्षकको मानक कहाँ हुने र शिक्षकहरुको मापिङ के ? भनेर पटक पटक तथ्यांक मागिएपनि अहिलेसम्म प्राप्त हुन नसकेको बताइन् ।
उनले भनिन्– ‘निजी र सामुदायिकका बीचमा जुन काम हुनुपर्ने हो त्यो पनि भएको छैन । शिक्षा विधेयकमा काम गर्ने भनेको दरबन्दीका लागि मात्र होइन । शिक्षा विधेयक बनाउँदा वर्क आउट नगरिएको पाए । मेरो अनुरोध के छ भने विभिन्न थरिका शिक्षकहरु जुन छन्, विभिन्न खालका जुन शिक्षकहरु छन् त्यसमा शिक्षा ऐन आइसकेपछि उहाँहरुको अवस्था के हुन्छ । राजनीतिज्ञहरुले बनाएको हो भने यो रोक्नुप¥यो । विभिन्न खालका शिक्षकको मानक कहाँ हुन्छ ? यी विभिन्न प्रकारका शिक्षकहरुको मापिङ के हुन्छ भनेर मागेको विषय हो । पटक पटक तथ्यांक मागिएको तर, त्यो तथ्यांकको वर्कआउट अहिलेसम्म आएको छैन । अब अंग्रेजी उखान अनुसार ‘कुकुरले पुच्छर हल्लाउने कि ? पुच्छरले कुकुर हल्लाउने ?’ भन्ने मेरो प्रश्न छ । हामीले विधेयक बनाउने कि संघसंगठनले बनाउने ? यो कानुन बनाउँदै नबनाउने हो भने यो गणतन्त्रको के काम ?
उनले विभिन्न प्रकारका शिक्षकको समायोजनका विषयमा अझैपनि स्पष्ट रुपमा उल्लेख हुन नसकेको दाबी गरिन् ।