Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

आप्रवासी मुद्दाले ट्रम्प प्रशासन र स्थानीय सरकार आमनेसामने

Zenith Migration Education

अमेरिकामा आप्रवासीहरूमाथिको धरपकडविरुद्ध सुरु भएको प्रदर्शनले उग्र रूप लिँदै गएको छ भने यसले सङ्घीय सरकार र स्थानीय सरकारबीच गम्भीर टकरावको अवस्था सिर्जना गरेको छ ।

लस एन्जलसमा प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना परिचालन गरेपछि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले कडा आपत्ति जनाएका छन् ।
लस एन्जलसकी मेयर कारेन बासले आफूहरूसँग कुनै समन्वय नगरी सेना परिचालन गरिएको भन्दै यसलाई अस्वीकार्य कदमको संज्ञा दिएकी छन् ।

उनले स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै रात्रिकालीन कर्फ्यु लगाउन सकिने चेतावनीसमेत दिएकी छन् । प्रदर्शनकारीमाथि दमन नगर्न आग्रह गर्दै उनले प्रहरी प्रमुखसँग भेटवार्ता गरेकी छन् ।

यसैबीच, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पको निर्णयविरुद्ध अदालतमा मुद्दा नै दर्ता गरेका छन् । यद्यपि, प्रारम्भिक सुनुवाइमा अदालतले धरपकड रोक्न माग गरिएको उनको निवेदन अस्वीकार गरेको छ ।

लस एन्जलसबाट सुरु भएको प्रदर्शनको आगो अहिले न्युयोर्क र सान फ्रान्सिस्कोसम्म फैलिएको छ । न्युयोर्कमा प्रदर्शनकारीहरूले आप्रवासन तथा भन्सार कार्यान्वयन कार्यालय हटाउन माग गर्दै कार्यालय अगाडि नै धर्ना दिएका छन् । उता, सान फ्रान्सिस्कोमा भएको प्रदर्शनका कारण अदालत दिउँसो १ बजे नै बन्द गर्नुपरेको थियो भने प्रदर्शनकारीले मुख्य १०१ राजमार्ग अवरुद्ध पारेका छन् । तीन दिनमा राजमार्ग ठप्प पारिएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु