Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

मिडिया र समुदाय’ अन्तरक्रिया कार्यक्रम सिड्नीमा हुने, एन्जाको आयोजनामा तयारी तीव्र

Zenith Migration Education

सिड्नी, जुन ९ — अष्ट्रेलियामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट्स एसोसिएसन (ANJA) ले सामाजिक अगुवा, नेपाली प्रतिनिधि तथा विविध संघ–संस्थाबीच समन्वय र संवाद विस्तार गर्ने उद्देश्यसहित ‘मिडिया र समुदाय’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम आउँदो जुन २७ तारिख, शुक्रबार सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा हुने छ। एन्जाका अध्यक्ष कृष्ण तिवारीका अनुसार, अष्ट्रेलियामा रहेका विभिन्न सांस्कृतिक, पेशागत तथा व्यवसायिक पृष्ठभूमिका नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।

“पत्रकारिता र समुदायबीचको सम्बन्ध बलियो बनाउने, आपसी अपेक्षा बुझ्ने र सहकार्यको नयाँ सम्भावनाबारे संवाद गर्ने यो एक महत्वपूर्ण अवसर हो,” तिवारीले बताए।

एन्जाले विगतमा पनि अष्ट्रेलियाका विभिन्न राज्यहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि, यो नयाँ निर्वाचित कार्यसमितिको पहिलो सामुदायिक अन्तरक्रिया कार्यक्रम हुनेछ। कार्यक्रमले पत्रकार र समुदायबीचको सम्बन्धमात्र नभई, अष्ट्रेलियामा रहेका नेपालीहरूको सामाजिक स्थिति, उनीहरूको योगदान र संस्थागत भूमिकाबारे समेत गहन छलफल गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, वाणिज्यदूत सञ्जीव शर्मा, विभिन्न संघसंस्था प्रतिनिधि तथा समुदायका अगुवाहरूको सक्रिय सहभागिता रहनेछ।

कार्यक्रममा समावेश हुने मुख्य विषयहरू यसप्रकार छन्:

– नेपाली समुदायको वर्तमान अवस्था र योगदान

– पत्रकार र समुदायबीचको आपसी अपेक्षा र जिम्मेवारी

– सञ्चारमाध्यमको भूमिकाबारे खुला छलफल

– समुदाय प्रवर्द्धनमा सहकार्यका सम्भाव्य मार्गचित्र

कार्यक्रम सफल बनाउन एन्जा अध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विशेष आयोजक समिति गठन गरिएको छ। समितिमा उपाध्यक्ष माधव गैरे, महासचिव गणेश भट्ट, सचिव तक्दीर अधिकारी, पब्लिक अफिसर कोम खत्री, सदस्यहरू विनायक अधिकारी, केदार रायमाझी, गोपाल छन्त्याल, तथा पूर्व उपाध्यक्ष प्रकाश हुमागाईं रहेका छन्। समितिले सम्पूर्ण समन्वय, व्यवस्थापन र सञ्चार संयोजनको जिम्मेवारी सम्हाल्नेछ।

एन्जाले भविष्यमा अझ प्रभावकारी र सहभागीमूलक कार्यक्रमहरू आयोजना गर्दै पत्रकारिता र समुदायबीचको सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु