Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

अमेरिकाबाट थप ४० नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आज काठमाडौं पठाइँदै

Zenith Migration Education

अमेरिकाबाट डिपोर्ट भएका थप ४० नेपालीहरु आज काठमाडौं फर्किदै छन्। उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाउन लागेको हो ।

नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपालको अध्यागमन कार्यालय स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नरहेको बताएका छन् ।

१०–१२ दिन अगाडि नै नेपालीहरुलाई डिपोर्ट गरिएको पत्र आए पनि संख्या यकिन भइनसकेको जनाउँदै प्रवक्ता न्यौपानेले भने, ‘काठमाडौं अवतरण भइसकेपछि मात्र संख्या यकिन हुनेछ ।’ अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अध्यागमनको अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने र फर्किने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

डिपोर्ट भएर आज काठमाडौं अवतरण गर्न लागेका नेपालीहरुलाई भने के कारणले डिपोर्ट गरिएको हो भन्ने व्यवहोरा पत्रमा स्पष्ट नखुलेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ ।

जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिए मात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु