Monday, September 14, 2026
Zenith Migration Education
Monday, September 14, 2026

दुई वर्षअघि भासिएको पुल अझै बनेन

Zenith Migration Education

अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन। झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने यो पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।

स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए। उनका अनुसार हिउँदमा सवारी आवागमन हुने यो पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ। बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ।

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए। नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उनले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए। पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ।

२०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले यो पुल चालु आर्थिक वर्षको कार्ययोजनामा नपरेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु