Zenith Migration Education
Sunday, May 18, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

‘अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता’

Zenith Migration Education

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् ।

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताए । यसले प्रेसलाई बदनाम गर्ने काम गरिरहेको उल्लेख गरे ।

प्रेस स्वतन्त्रता बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने बताए । मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्वपूर्ण भुमिका रहेको बताउँदै प्रेस जगतले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।

उनले आजको दुनियाँमा खाली विकासमात्र भन्ने तर प्राकृतिक तौरतरिकामा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण भएको स्पष्ट पारे । विकास कुनै व्यक्तिको सनकमा भइरहेकाले अबको दश वर्षपछि त्यसले निम्त्याउने समस्या कस्तो होला भनेर सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बेला आएको मन्त्री सुब्बाको भनाई थियो ।

उनले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा राजतन्त्र पो राम्रो हो कि भन्ने मानेमा युवाहरू भड्किरहेका छन् । राजतन्त्रभन्दा गणतन्त्र नै ठिक हो भनेर यसलाई संस्थागत गर्न प्रेस जगतको महत्वपूर्ण भुमिका छ । जहाँ गणतन्त्र बलियो हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता बलियो हुन्छ । प्रेस स्वतन्त्रताले जनतालाई के दियो र व्यवस्थालाई के दियो ? तर आज अनलाइनको माध्यमबाट जुन किसिमको अफवाह फैलाइरहेको छ । तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ । यसले प्रेसलाई बदनाम गर्ने काम भइरहेको छ । त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता जहाँ बलियो हुन्छ त्यहाँ प्रजातन्त्र बलियो हुन्छ । अर्को कुरा जलवायु परिवर्तनले संसारभर घण्टी बजाइरहेको छ । त्यसबाट उत्पन्न समस्याले विकास निर्माण र समाजमा पारेको असरबारे भाषण मात्र नभई काम नै गर्नुपर्ने अवस्था आएको छ । आजको दुनियाँमा विकासमात्र भन्ने तर नेचुरल कन्जरभेसनमा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण हो । जहाँ विकास निर्माणका काम हुन्छन् त्यहाँ वातावरण प्रदूषणलाई पनि ध्यान दिनुपर्ने आजको आवश्यकता हो । जलवायु परिवर्तनले अबको १० वर्षपछि उत्पन्न हुने समस्या समाधानमा जोड दिनुपर्ने बेला आएको छ ।’

मन्त्री गुरुङले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ले हिमाली क्षेत्र लोमान्थाङमा पुगेर जलवायु परिवर्तनले पारेको असरबारे समिटबाट प्राप्त सुझावहरूले आफूहरूलाई यसबारेमा सोच्न दबाब पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery