भारत र पाकिस्तानबीच केही दिनदेखि जारी तनाव रोकिएको छ । दुवै देशका अधिकारीहरूले संघर्षविराम भएको पुष्टि गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार बुधबार दिउँसो पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ)ले शनिबार दिउँसो भारतीय समकक्षीलाई फोन गरेका थिए ।
दुवै पक्षले शनिबार स्थानीय समय अनुसार साँझ ५ बजेदेखि स्थल, हवाई र समुद्री मार्ग हुँदै हुने सबै प्रकारका गोलीबारी र सैन्य कारबाही तुरुन्त रोक्ने सहमति गरेका छन् ।
दुबै देशबीच आगामी वार्ता मे १२ तारिख (सोमबार)मा तय गरिएको छ ।
भारत-पाकिस्तानबीच जारी द्वन्द्व रोक्न अमेरिकाले मध्यस्थता गरेको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भ्यान्सले विगत ४८ घण्टा भारतीय र पाकिस्तानी शीर्ष नेतृत्वसँग निरन्तर छलफल गरेका थिए ।
त्यसपछि दुवै देशले युद्धविरामको निर्णयसँगै तटस्थ स्थानमा विस्तृत वार्ता गर्न सहमति जनाएको अमेरिकी विदेशमन्त्री रुबियोले बताएका छन् ।
यससँगै पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका उडानका लागि पूर्णरूपमा खोलिएको छ ।
यसैबीच, भारतीय सेनाका प्रतिनिधिले युद्धविराम घोषणा भएयता पहिलोपटक छिट्टै सम्बोधन गर्नेछन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि अहिले केहीबेरमा राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
२२ अप्रिलमा भारत प्रशासित जम्मू-कश्मीरको पहलगाम पाकिस्तानी समर्थित आतंकवादी समूहले एक नेपालीसहित २६ जना पर्यटकको हत्या गरेका थिए ।
त्यसको बदलामा भारतले ‘अपरेसन सिन्दूर’ चलाएको थियो । जुन अपरेसनमा भारतले पाकिस्तानका आतंकवादी इलाकामा ड्रोन हमला परेको थियो ।
भारतको आक्रमणपछि पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो । सीमा क्षेत्रका दुई देशका सैनिकबीच बमबारी भइरहेको थियो भने दुवै देशले एकअर्काविरुद्ध मिसाइल आक्रमण गरिरहेका थिए ।