Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

काठमाडौं घोषणा पत्र जारी गर्दै एनआरएनएको एकता महाधिवेशन सम्पन्न

Zenith Migration Education

गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित दिने एकता महाधिवेशन नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।

आइतबार काठमाडौंको हायात होटेलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनआरएनहरुबाट नेपालले धेरै आशा गरेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको तर अहिलेसम्म पनि त्यसको कार्यान्वयन हुन नसकेको थाहा पाउँदा दुःख लागेको बताए । उनले नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एनआरएनहरुसँग रहेको ज्ञान र सिप नेपालको उन्नतीमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नु पर्ने बताए । उनले एनआरएनका मुद्दाहरुलाई सम्बोधन गर्न आफ्नो दल सधैं सकारात्मक रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ताहरु, आरके शर्मा, डा. केशव पौडेल, थर्क सेन, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, उच्चस्तरीय समितिका सदस्यहरु कुल आचार्य, विनोद कुँवर र रबिना थापाले शुभकामना दिएका थिए।

महाधिवेशनबाट नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले सबै पक्षलाई मुद्दामामिला फिर्ता लिन आग्रह गर्दै नयाँ कार्यसमितिले छुटेका साथीहरुलाई पनि समेट्न सक्दो प्रयास गर्ने जनाएका छन् ।

कार्यक्रममा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनले पारित गरेको ‘काठमाडौं घोषणा पत्र २०२५’ पढेर सुनाउनुका साथै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफूहरुले सर्वोच्च अदालतको परमादेशको सम्मान गर्दै विभिन्न वाधा व्यवधान खपेरै भए पनि तोकिएको समयभित्रै निर्वाचन गराएको जनाए । उनले नयाँ कार्यसमिति संस्थालाई एकजुट बनाएर अघि बढ्न सफल होस् भनि शुभकामना पनि दिए । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका थिए । २ दिने अधिवेशनमा संसारभरीबाट आएका सयौं डेलिगेट्सहरु सहभागि भएका थिए । अधिवेशन सम्पन्न भएसँगै सहभागीहरु कर्मथलो फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु