सिडनी-ओबर्न पुलिस स्टेशनमा नयाँ कमाण्डर, Superintendent Robert Toynton, को स्वागत गर्दै आयोजित “कमाण्डरसँग कफी” कार्यक्रममा ओबर्नका विविध समुदायका सदस्यहरूले सहभागिता जनाए। यो कार्यक्रममा प्रहरी र समुदायबीचको सहकार्य र सुरक्षा विषयमा प्रत्यक्ष संवादको अवसर प्राप्त भएको थियो।
समुदायका नेताहरू, धार्मिक अगुवा र विभिन्न सेवा प्रदायकहरूको उपस्थितिमा यो कार्यक्रमको मुख्य उद्देश्य प्रहरी र समुदायबीच विश्वास र समझदारीको वातावरण सिर्जना गर्नु थियो।
कार्यक्रमका क्रममा, Superintendent Toynton ले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको विचार र सुझाव सुने। Gospel Nepali Churchका प्रमुख पाष्टर जीवन रायमाझी (केदार) ले कमाण्डरलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। उहाँले अघिल्ला कमाण्डरहरूको कार्यको सराहना गर्दै पुलिस र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।
यही अवसरमा, ओबर्न नेपाली समुदायका अध्यक्ष जितेन्द्र श्रेष्ठले नेपाली युवाहरूको अनुचित व्यवहारले सार्वजनिक स्थलमा असर पुर्याएकोमा प्रहरीको ध्यानाकर्षण गराए।
“कमाण्डरसँग कफी” जस्ता कार्यक्रमहरूले ओबर्नका समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।


















