Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सिड्नीमा नेपाली क्रिस्चियन युवाहरूको पहिलो सम्मेलन सम्पन्न

Zenith Migration Education

सिड्नी, असोज १९ l शनिबार, २०२४ अक्टोबर १९ का दिन सिड्नीको ओबर्नस्थित २९ क्विन स्ट्रिटमा रहेको गस्पल नेपाली चर्चमा पहिलो पटक नेपाली क्रिस्चियन युवाहरूको ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ। “तपाईंको वरदान प्रभु सेवामा” शिर्षकमा आयोजित यस सम्मेलनमा सिड्नीभरिका पाँचभन्दा बढी चर्चहरूबाट १०० भन्दा बढी युवाहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

सम्मेलनको उद्घाटन आराधना समूहद्वारा वर्सिप, भजन र प्रशंसा गीतमार्फत गरिएको थियो। गस्पल नेपाली चर्चका अगुवा सैलेस महर्जन र जोन गिरीको नेतृत्वमा आरम्भ भएको यो कार्यक्रम तीन घण्टा लामो र हौसलादायी रह्यो। सम्मेलनको सञ्चालन चर्चकी अगुवा अनु श्रेष्ठले गरेकी थिइन् भने प्रमुख प्रवचन होसन्ना नेपाली चर्चका एल्डर रमेश वर्माले प्रस्तुत गरेका थिए।

बाइबल क्विज, खेलकुद, र क्रिस्चियन नृत्यजस्ता विविध गतिविधिहरूले सम्मेलनलाई मनोरञ्जनात्मक र प्रेरणादायी बनाएको थियो। सहभागी चर्चहरूमा युएनसिसी चर्च, ट्रिनिटी चर्च, सिड्नी नेपाली चर्च, र होसन्ना नेपाली चर्च लगायत थिए। सम्मेलनका क्रममा सहभागीहरूले पहिलो पटक यस्तो व्यापक र संयुक्त कार्यक्रम आयोजना भएकोमा हर्ष व्यक्त गरे।

गस्पल नेपाली चर्चका पास्टर जीवन रायमाझीले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाउँदै भविष्यमा थप युवा सम्मेलनहरूको योजना रहेको बताए। अन्तिममा, होसन्ना नेपाली चर्चका एल्डर रमेश वर्मालाई पास्टर जीवन रायमाझी लगायत विभिन्न चर्चका अगुवाहरूले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरे।

सम्मेलनको अन्त्यमा पास्टर रायमाझीले सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै समापन प्रार्थना गरे। यस ऐतिहासिक सुरुवातले नेपाली क्रिस्चियन युवाहरूलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु