सिड्नी — चर्चित गायक रामकृष्ण ढकालको सम्मानमा सिड्नीको ग्रान्डभिलस्थित फ्लेवर्स अफ नेपाल रेस्टुरेन्टमा मंगलबार विशेष बिदाइ कार्यक्रम सम्पन्न भएको छ। अस्ट्रेलियाका विभिन्न सहरहरूमा आफ्नो सांगीतिक प्रस्तुति सकेपछि अन्तिम चरणमा आयोजना गरिएको यस कार्यक्रममा गायक ढकाललाई खादा ओढाएर र सम्मानपत्र प्रदान गर्दै बिदाइ गरिएको हो।

रेस्टुरेन्टका सञ्चालक राजेश केसी र पत्रकार राजन घिमीरेको संयोजनमा गरिएको कार्यक्रममा गायक ढकालले आफ्नो सांगीतिक यात्रा र अस्ट्रेलियाली नेपाली दर्शकहरूले दिएको माया प्रति आभार व्यक्त गरे। कार्यक्रममा उपस्थित दर्शकहरूको बाक्लो भीडबीच उनले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। विशेष गरी, “ओराली लागेको हरिणको चाल भो” र “ए माया जदौं” जस्ता गीतले माहोललाई संगीतमय बनाएका थिए। साथै, गायक नारायण गोपालका अमर गीतहरू पनि उनले प्रस्तुत गरेर दर्शकलाई झनै रमाइलो बनाएका थिए।

फ्लेवर्स अफ नेपाल रेस्टुरेन्ट नेपाली कलाकारहरूको स्वागत र सम्मान गर्ने स्थलका रूपमा परिचित छ। यसअघि पनि गायक बद्री पंगेनी, सिन्दु मल्ललगायत थुप्रै कलाकारहरूको सम्मान यहाँ गरिसकिएको छ। गायक ढकालले पनि अस्ट्रेलियाली दर्शकहरूको माया र साथले आफूलाई फेरि यहाँ फर्कने प्रेरणा मिलेको बताए। “दर्शकहरूले दिएको अपार माया देखेर फेरि पनि आउन मन लागेको छ,” ढकालले भने।

एक सहभागीले फ्लेवर्स अफ नेपाल रेस्टुरेन्टलाई नेपाली परिकारको स्वाद लिन चाहनेहरूका लागि सिड्नीको प्रमुख गन्तव्यका रूपमा वर्णन गरे।
गायक ढकालले अस्ट्रेलियाको सांगीतिक यात्रा सम्पन्न गरेपछि अब अमेरिकाका विभिन्न सहरहरूमा आफ्नो प्रस्तुति दिन तयारी गरिरहेका छन्।









