Wednesday, March 18, 2026
Zenith Migration Education
Wednesday, March 18, 2026

नयाँ बानेश्वरमा फल्चा सञ्चालनमा

Zenith Migration Education

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् । नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको हो । यस्तै बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडक खण्डमा रहेको बस बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ, यस्ता संरचना राजनीतिक आन्दोलनको मारमा पर्न हुदैँन ।” फल्चा निर्माणमा स्थानीयवासी सहभागी भएकाले यसको संरक्षण गर्न उनीहरुले निगरानी गर्ने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताउनुभयो । “यसमा नगर प्रहरीले पनि सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भन्नुभयो, “सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ ।” झण्डै रु ६२ लाखको लागतमा फल्चा निर्माण गरिएका हुन् । यसमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ ।

बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र बत्ती जडान गरिएका छन् । आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरभित्र प्रतिक्षालयका रुपमा ‘फल्चा’ निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।

महानगरले परम्परागत फल्चा निर्माण गर्न चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सम्पदा तथा पर्यटन विभागअन्तर्गत सम्पदा पूर्वाधार शीर्षकमा रु पाँच करोड विनियोजन गरेको थियो । काठमाडौँ उपत्यकाको पाटन, कीर्तिपुर र भक्तपुरमा बढी मात्रामा फल्ल्चाको प्रयोग भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु