सिड्नी — हिमालयन हार्मोनी इभेन्ट्सको आयोजनामा सिड्नीको ग्रानभिल पार्कमा “होली फिएस्टा २०२६” शनिबार भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायलाई एकताबद्ध गर्दै होली पर्वलाई उल्लासका साथ मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको संयोजन सौगात गजुरेल, विकास मराठ्ठा र रमण शिवाकोटीले गरेका थिए। रंग, संगीत र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सिड्नीस्थित नेपाली समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रमलाई सिड्नीकी चर्चित होस्ट अञ्जनी कार्कीले सञ्चालन गरेकी थिइन्। उनले उत्साहपूर्ण शैलीमा कार्यक्रमलाई अघि बढाउँदै दर्शकहरूलाई निरन्तर मनोरञ्जन प्रदान गरेकी थिइन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डले आफ्ना लोकप्रिय गीतहरूसहित प्रस्तुति दिएका थिए। त्यस्तै लोकप्रिय गायिका एलिना चौहान, चर्चित ब्यान्ड ‘दि एरियल्स नेपाल’ तथा डिजे विधानले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै कार्यक्रमलाई थप रोमाञ्चक बनाएका थिए।

नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा लाखे र झाँक्रीको विशेष सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। उक्त प्रस्तुतिले विशेषगरी नयाँ पुस्तालाई नेपाली परम्परा र सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गरिएको आयोजकले बताएका छन्।

कार्यक्रमस्थलमा विभिन्न नेपाली खानाका परिकारसहितका स्टलहरू पनि राखिएका थिए। विशेषगरी ग्रानभिलस्थित फ्लेभर्स अफ नेपाल लगायतका स्टलहरूले सहभागीहरूलाई नेपाली परिकारको स्वाद दिलाएका थिए। साथै आयोजक टिमका युवाहरूले स्वयम्सेवकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए।

रंग, संगीत र नेपाली सांस्कृतिक झल्कोसहित सम्पन्न “होली फिएस्टा २०२६” ले सिड्नीस्थित नेपाली समुदायलाई एकै ठाउँमा ल्याउँदै होली पर्वलाई उल्लासका साथ मनाउने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।



