Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

सिड्नीमा एन्टाद्वारा इफ्तार कार्यक्रम सम्पन्न

Zenith Migration Education

सिड्नी — ओबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा अष्ट्रेलियन नेपाली तराई एसोसिएसन (एन्टा) को आयोजनामा इफ्तार कार्यक्रम सम्पन्न भएको छ। रमदानको पवित्र महिनाको अवसरमा आयोजित कार्यक्रममा मुस्लिम समुदायसहित विभिन्न धर्म र समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म उपवास, प्रार्थना र आत्मसंयमका साथ मनाउने रमदान पर्वको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा सामूहिक इफ्तार, शुभकामना आदानप्रदान तथा आपसी सद्भाव सन्देश साटासाट गरिएको थियो।

एन्टामा विभिन्न धर्म र समुदायका सदस्यहरूको सहभागिता रहँदै आएकाले संस्थाले विगत तीन वर्षदेखि रमदानको समयमा मुस्लिम समुदायलाई समेटेर इफ्तार कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। यस वर्षको कार्यक्रम पनि त्यसैको निरन्तरताका रूपमा सम्पन्न गरिएको हो।

कार्यक्रममा बोल्दै एन्टाका पूर्वअध्यक्ष शुभांश साहले यस्ता कार्यक्रमले समुदायबीचको आत्मीयता, धार्मिक सहिष्णुता र सहकार्यलाई अझ सुदृढ बनाउने बताए।

त्यसैगरी, एन्टाका अध्यक्ष सुजीत कुमार सिंहले मुस्लिम समुदायलाई रमदानको शुभकामना दिँदै आफ्नो कार्यकालको पहिलो इफ्तार कार्यक्रम सबै समुदाय मिलेर मनाउन पाउनु एकताको प्रतीक भएको बताए। उनले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरे।

नेपाली मुस्लिम समुदायका अध्यक्ष जमालुद्दीन मियाँले एन्टाले मुस्लिम समुदायप्रति देखाएको आत्मीयता, सहयोग र सद्भावको प्रशंसा गर्दै इफ्तार कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्तै साथ र सहकार्य रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा एन्टाका पूर्वअध्यक्ष रञ्जित साह, पूर्वउपाध्यक्ष परमानन्द साह, अफजल अन्सारी लगायत संस्थाका अगुवा तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु