Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्ने

Zenith Migration Education

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्नेछन् । स्रोतका अनुसार इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) र सेनाबीच यस सम्बन्धमा सम्झौता भएको छ । इमरानको तर्फबाट, खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीनले शनिबार पेशावरमा आर्मी कोर्प्स कमाण्डरसँग इफ्तार भोजमा सम्झौतालाई अन्तिम रूप दिए।

अमिनले यसअघि अदियाला जेलमा इमरानसँग भेट गरेका थिए । यो सम्झौता अन्तर्गत इमरानलाई पहिले जेलबाट घरमै नजरबन्दमा राखिने बताइएको छ । इफ्तार पार्टीमा भाग लिने एक वरिष्ठ पीटीआई नेताले भनेअनुसार सेना प्रमुख असिम मुनीरले छलफलको लागि कोर कमाण्डर नियुक्त गरेका थिए।

सम्झौताको सबैभन्दा महत्त्वपूर्ण सर्त भनेको इमरानले संस्थाको रूपमा सेनाको विरुद्धमा बयान दिन बन्द गर्नुपर्नेछ। इमरानलाई केही अधिकारीहरू विरुद्ध बयान दिन अनुमति दिइनेछ, तर उनले सेना प्रमुखलाई सीधै निशाना बनाउने छैनन्।

इमरान र उनकी श्रीमती बुशरा बेगमले तोशाखाना मुद्दामा १४ वर्षको जेलमा जमानत पाउने भएका छन् । त्यसपछि गोप्य कागजात चोरीको मुद्दामा १० वर्ष जेल सजायमा जमानत दिइनेछ। स्रोतका अनुसार इमरान विरुद्ध जमिन हडप्ने अल कादिर मुद्दा जारी रहनेछ। यदि इमरान खानले सम्झौता तोडे भने उनलाई अल कादिर मुद्दामा फेरि जेल पठाइनेछ ।

राजनीतिक विश्लेषक मजहर भन्छन्, ‘पाकिस्तानको राजनीतिमा जुन गतिमा राजनीतिज्ञहरू विरुद्ध मुद्दा दर्ता हुन्छन्, ती मुद्दाहरू त्यसैगरी समाप्त हुन्छन्। यो नवाज शरीफको मामलामा प्रमाणित भएको छ, इमरानको मामलामा पनि त्यस्तै हुन सक्छ।’ यसबाहेक पीटीआईले कोर कमिटी पुनर्गठन गर्ने अनुमति पाएको छ । इमरानलाई बाहिर निकालेर सेनाले भविष्यमा वर्तमान शाहबाज सरकारलाई पनि सन्तुलनमा राख्न सक्षम हुनेछ।

इमरान खान विगत ८ महिनादेखि पाकिस्तानको जेलमा छन् । उनी पहिलो पटक तोशखाना मुद्दामा ३ वर्षको जेल सजाय पाएका थिए । यसपछि पाकिस्तानमा यस वर्ष फेब्रुअरीमा भएको निर्वाचनको केही दिनअघि खानलाई ३ मुद्दामा कुल ३१ वर्षको जेल सजाय सुनाइएको थियो । जसमा तोशाखानासँग सम्बन्धित अर्को मुद्दा, गोप्य चिठी चोरी मुद्दा र बुशरासँग अवैध विवाह मुद्दा पर्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic