Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

नेपाल महोत्सवको रौनक: सिड्नीमा नेपाली संस्कृतिको झल्को

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले आयोजना गर्ने नेपाल महोत्सव यस वर्ष अस्ट्रेलियाव्यापी रूपमा मनाइँदैछ। महोत्सवको केन्द्रमा रहेको सिड्नीको नेपाल महोत्सव यही नोभेम्बर २३ शनिबार, सिड्नीको डार्लिङ हार्बरस्थित तुम्वोलोङ पार्कमा हुने छ। विहान १० बजे सुरु भएर रातिको १० बजेसम्म चल्ने महोत्सवमा नेपाली संस्कृति, पर्यटन र परम्परालाई उजागर गरिने छ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना गरिने यस महोत्सवले नेपालको पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूका स्टल, खानाका परिकार, र नेपाली हस्तकला पनि विशेष आकर्षण हुनेछन्।

nepal-festival-sydney

सिड्नी सहरको लिभरपुल स्ट्रिट, वाथ हर्स्ट स्ट्रिट, र डार्लिङ हार्बर क्षेत्र नेपाली झण्डाले सजाइनेछ, जसले महोत्सवको प्रचारप्रसारलाई थप रौनक दिनेछ। कार्यक्रमको आकर्षणको रूपमा नेपाल हाउस मार्फत नेपालको भौगोलिक परिचय (तराई, पहाड, हिमाल) र पर्यटकीय स्थल, धार्मिक स्थल, भेषभुषा, कला, कृति, भाषा र इतिहासलाई उजागर गरिने छ।

शनिबार बिहान साढे १० बजे विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृतिको झल्को दिने गरि बाजा गाजासहित शान्ति पदयात्रा गरिने छ। महोत्सवमा द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुति रहनेछ, जसले नेपाली लोक, पप, रक संगीतलाई जीवन्त बनाउनेछ। त्यस्तै स्थानीय कलाकारहरूका सांगीतिक कार्यक्रम र नेपाली संस्कृतिलाई झल्काउने विभिन्न नृत्यहरू पनि प्रस्तुत गरिनेछन्।

नेपाली कला-संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यसहित प्रवासी नेपालीहरूको दोस्रो पुस्तालाई पनि मञ्च प्रदान गरिनेछ, जसले नेपाली पहिचानलाई नयाँ पुस्तासम्म पुरयाउने प्रयास गर्नेछ। यसै क्रममा, नेपाल र अस्ट्रेलियाको ७० वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन अस्ट्रेलिया सरकारका प्रतिनिधि र नेपाली राजदूतावासका अधिकारीहरूको विशेष सम्बोधनको समेत आयोजना गरिने छ।

एनआरएनए अस्ट्रेलिया, एनएसडब्लु राज्य समितिका संयोजक बीनोद कुँवरका अनुसार, महोत्सव प्रवासी नेपालीहरूको उत्सव हो, जसले नेपालीहरूले आपसी सुख-दुःख साट्न, संस्कृति मनाउन, र एकै थलोमा रमाउन अवसर दिनेछ। महोत्सवमा एनएसडब्लु राज्यका प्रिमियर क्रिश मिन्सको प्रमुख आतिथ्य रहने र ३० हजारभन्दा बढी नेपालीहरूको उपस्थिति अपेक्षा गरिएको अध्यक्ष अनिल पोखरेलले बताए।

महोत्सवको लागत करिब २ लाख ५० हजार डलर हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु