सिड्नी — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सेतोपाटीका प्रधान सम्पादक अमित ढकाललाई सिड्नीस्थित म्यारिल्याण्डको आफ्नो कार्यालयमा विशेष सम्मानसहित स्वागत गरेको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सम्पादक ढकालले प्रवासी पत्रकारिताको चुनौती र अवसरका विषयमा गहन अन्तरक्रिया गरेका थिए।
कार्यक्रममा बोल्दै सम्पादक ढकालले नयाँ प्रविधि र बदलिँदो सञ्चार माध्यमले ल्याएका चुनौतीहरूको सामना गर्दै कसरी सन्तुलित र सकारात्मक सन्देश सम्प्रेषण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो अनुभव प्रस्तुत गरे। उनले प्रवासमा रहेका नेपाली समुदायका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। ढकालले प्रवासी नेपाली मिडियाले समुदायका समस्याहरूलाई उजागर गर्न र समाधानमा मद्दत पुर्याउन सक्ने धारणा व्यक्त गरे।
अध्यक्ष पोखरेलले सम्पादक ढकालको उपस्थितिलाई एनआरएनएका लागि विशेष अवसरको रूपमा लिँदै, पत्रकारिताको माध्यमबाट प्रवासी समुदायको हितमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले सञ्चार क्षेत्रको महत्त्वपूर्ण योगदानले नेपाल र प्रवासी नेपाली समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले पत्रकारिताका चुनौतीहरू र सम्भावनाहरूको बारेमा जिज्ञासा राखे। ढकालले ती जिज्ञासाहरूको उत्तर दिंदै नेपाली सञ्चार माध्यमले प्रवासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
यस कार्यक्रममा एनएसडब्लु अस्ट्रेलियाका संयोजक बिनोद कुँवर सहित एनआरएनए टोली र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सम्पादक अमित ढकालले आफ्नो अनुभवबाट प्राप्त ज्ञान र सुझावहरू साझा गर्दै, प्रवासी सञ्चारको भूमिका र यसको प्रभावबारे उपस्थितहरूको मन जिते।







