Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

समाजसेवी सबला बस्नेतको जीवन कथा: सेवा, संघर्ष र प्रेरणा

Zenith Migration Education

काठमाडौंको बल्खु-४, कुमारी क्लबमा जन्मिएकी सबला बस्नेत तीन सन्तानमध्ये कान्छी छोरी हुन्। उनका एक दिदी र एक दाजु छन्। उनका बुबा लाल बहादुर बस्नेत हिमाल सिमेन्ट उद्योगमा कार्यरत हुनुहुन्थ्यो, हाल व्यवसायमा संलग्न हुनुहुन्छ भने आमा सान्ता कुमारी बस्नेत हालसम्म पनि त्रिभुवन विश्वविद्यालयमा कार्यरत छिन्।

सबला हाल ३० वर्षकी छन्। सानैदेखि समाजसेवा, कला र संस्कृतिप्रति रुचि राख्ने सबला आफ्नी आमाबाट प्रेरित थिइन्। उनले सानेपाको Radiant Academy बाट एसएलसी पास गरिन् र उच्च शिक्षा बल्खुको Bernhardt College बाट पूरा गरिन्। नृत्यमा प्रखर सबला खेलकुदमा पनि अब्बल थिइन्, विशेष गरी बास्केटबल र ब्याडमिन्टन खेल्ने गर्थिन्।

२०१७ मा पारिवारिक सहमतिमा छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि, उनी मास्टर अफ प्रोफेस्नल अकाउन्टिङ (MPA) गर्न अष्ट्रेलिया, सिड्नी आइन। सिड्नीमा आफन्तसँग बस्दै उनले हाउसकिपिङ र कस्टमर सर्भिसजस्ता कामहरू गरिन्। आफ्नो पढाइ पूरा गरी उनले प्रोफेस्नल क्षेत्रमै काम गर्न थालिन्। उनका श्रीमान् पछि ८ महिनामा अष्ट्रेलिया आए, तर वैवाहिक जीवनमा उत्पन्न असमझदारीले सम्बन्ध विच्छेदसम्म पुर्‍यायो।

डिभोर्स भएपछि सबलाले आफ्ना भावनाहरूलाई थाम्दै कुनै प्रकारको विवाद नगरी सम्पूर्ण रूपमा अगाडि बढ्ने निर्णय गरिन्। उनी भन्छिन्, “सम्बन्ध विच्छेद त रहर थिएन, तर चिसोपन र समझदारीको कमीले गर्दा त्यो अन्त्य भयो। अब म समाजसेवामा लागेर अरूको जीवनमा परिवर्तन ल्याउन चाहन्छु।

सम्बन्ध विच्छेदपछि सबलाले समाजसेवामा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरिन्। एनआरएनए अष्ट्रेलियाको युथ मेम्बरका रूपमा सहभागी हुँदै उनले समाजसेवाको यात्रा सुरु गरिन्। उनको नेतृत्व क्षमता देखेर उनलाई एनआरएनए अष्ट्रेलिया नारी निकुञ्ज महिला संगठनको सिड्नी संयोजकको जिम्मेवारी दिइयो। अहिले सबला घरेलु हिंसा पीडित नेपाली महिलाहरूको हकका लागि वकालत गर्दै पीडितहरूको सेवामा समर्पित छिन्।

सबला बस्नेतको जीवन संघर्ष र सेवाको अद्वितीय मिसाल हो। उनी नेपाली महिलाहरूलाई सशक्त बनाउने अभियानमा अविचलित भएर अघि बढिरहेकी छिन्। समाजसेवाको माध्यमबाट महिलाहरूलाई प्रेरित गर्ने उनको अठोटले नेपाली समुदायमा महिला सशक्तिकरणको आवाज अझ सशक्त बनाउँदै लगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु