Saturday, July 25, 2026
Zenith Migration Education
Saturday, July 25, 2026

प्रधानमन्त्री दाहालले तुरुन्तै राजीनामा दिनुपर्छ : एमाले

Zenith Migration Education

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तुरुन्तै राजीनामा दिन दबाब दिएको छ। आइतबार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट अल्पमतमा परेकाले आजै राजीनामा दिन आग्रह गरेको हो।

प्रधानमन्त्री दाहालले भने असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। काँग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँगको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासलाई तीव्रता दिने काममा सहयोग गरेको भन्दै काँग्रेसलाई धन्यवाद दिएको छ।

प्रमुख सचेतक बर्तौलाले भने, “काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ। यो सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्पमतमा परेको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले अझै राजीनामा नदिई बस्नु अनुचित हो। त्यसैले हाम्रो बैठकले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा दिन आग्रह गरेको छ।”

त्यसैगरी, कामचलाउ अवस्थामा पुगेकाले सरकारले कुनै निर्णय नगर्न पनि सचेत गराइएको छ। पार्टीका सांसद आस्मा चौधरीका पति लौटन चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न नेपाल प्रहरीलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु