Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’

Zenith Migration Education

भक्तपुर: बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्ने गरेको र कर्मचारी सेवा दिने गरेको बताउनुभयो । शनिबारबाहेकका अन्य चाडबाड तथा पर्वलगायतका सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै काम हुने उहाँले बताउनुभयो । सेवा दिने कार्यालयमा कर्मचारी सेवाग्राहीको प्रतिक्षामा बसे पनि सेवाग्राहीको आगमन भने कमै हुने गरेको उहाँले बताउनुभयो । सेवाग्राहीलाई सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्छ र सेवा पाइन्छ भन्ने धेरैलाई थाहा नहुँदा सेवाग्राहीको आगमन कम हँुदा त्यस्ता दिनमा यस्ता कार्यालय सुनसान हुने गरेको उहाँले बताउनुभयो । नापी र मालपोत कार्यालय सार्वजनिक बिदामा पनि खुला हुने गरेका छन् ।

सरकारले उभौली पर्व–चण्डीपूर्णिमा, बुद्धजयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, किरात समुदायको उधौली पर्व, योमरी पुन्ही–ज्यापू दिवस, तमुल्होसार, बुद्धजयन्ती, माघी पर्वमा अत्यावश्यकीय सरकारी कार्यालय खुला गर्ने निर्णय गरेसँगै यस्ता कार्यालयमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने गरेका छन् । त्यस्तै प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर इद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायतका सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ला रहने गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, “बिदाको दिनमा हामीले कर्मचारीको एउटा युनिट राखेका हुन्छौँ । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु