Saturday, May 9, 2026
Zenith Migration Education
Saturday, May 9, 2026

एनआरएन अष्ट्रेलियाको आफ्नै कार्यालय भवनको उद्घाटन सम्पन्न: ६ लाख डलरमा भवन खरिद

Zenith Migration Education

सिड्नी: गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले सिड्नीमा आफ्नै कार्यालय भवनको एक समारोहका बीच उद्घाटन गरेको छ।

हिजो बिहीबार कार्यक्रमका प्रमुख अतिथि न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले उक्त कार्यालयको उद्घाटन गरेका हुन्।उद्घाटन कार्यक्रममा बोल्दै मिन्सले नेपाली समूदायको खुलेर प्रशंसासमेत गरे । नेपालीको बाक्लो बसोबास गरेको रकडेल, कोग्राका सांसद समेत रहेका मिन्सले अष्ट्रेलियालाई आफ्नो घर बनाएका सबै नेपालीहरुलाई बधाई दिएका छन् । उक्त कार्यालय भवन खरिदका लागि न्यूसाउथ्वेल्स सरकारबाट २ लाख १० हजार डलर अनुदान प्राप्त भएको थियो भने भवन करिब पाँच लाख ८८ हजार डलरमा प्रोपर्टी खरिद गरिएको थियो। एनआरएन अष्ट्रेलियाले अबउप्रान्त आफ्ना सम्पूर्ण प्रशासनिकलगायत अन्य कार्यहरु सोही भवनबाट संचालन गर्नेछ।

त्यसैगरी, कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियामा नेपालीको नेटवर्क राम्रो भएको र सबै नेपालीका लागि यो गर्वको विषय भएकोभन्दै एनआरएन अष्ट्रेलियासँग विगतमाझैँ हातेमालो गर्न नेपाल सरकार, नेपाली दूतावास प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, एनआरएनका अध्यक्ष अनिल पोखरेलले एनआरएन अभियानमा साथ दिने सबैलाई धन्यवाद दिंदै समूदायको एकता र साथले नै कार्यालय भवन खरिद गर्न सम्भव भएको धारणा व्यक्त गरे।
एनआरएनको कुनै पनि कार्यक्रममा न्यूसाउथवेल्सको प्रिमियर आफै उपस्थित हुन यतिधेरै समय लागेको बताउँदै अष्ट्रेलियन सरकारबाट प्राप्त सहयोगका लागि प्रमुख अतिथि क्रिस मिन्सलाई आभार व्यक्त गरे ।

उनले भने, “आगामी दिनमा नेपाली समूदायको हितको निम्ति हातेमालो गर्न एनआरएन तयार रहेको छ।” साथै उज्ज्वल भविष्यको सपना बोकेर अष्ट्रेलिया आउने विद्यार्थीहरु मानसिकलगायत विभिन्न समस्यामा परेका बेला उनीहरुलाई गरिने सहयोगलाई अझ प्रभावकारी बनाउनु पर्नेमा समेत उनले जोड दिए। उनले अगाडि भने, “यो हाम्रो लागि ठूलो उपलब्धि हो, यो हाम्रो अफिस मात्र नभई सबै डायसबोरा नेपालीहरूको साझा घर पनि हो।” “आज यो अवस्था सम्म आइपुग्नुमा एनाआरएनका पूर्व अध्यक्षहरू साथै स्वयम् सेवक साथीहरूको ठूलो योगदान रहेको छ।सरकारी तहमा अझै पनि नीति निर्माणका लागि सहकार्य र सम्बन्ध बिस्तारलाई अझै प्रभावकारी बनाउन हामी प्रयासरत छौं।”

एनआरएन अध्यक्ष पोखरेलका अनुसार एनआरएनको आर्यक्रममा NSW
का प्रिमियरलगायत विभिन्न सरकारी निकायक पदाधिकारीहरूको पहिलो पल्ट सक्रिय सहभागिता रहेको थियो।
प्रमुख अतिथिलगायत अन्य पदाधिकारीहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष, विभिन्न संघसंस्थाका पदाधिकारी, मिडियाकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

मेरिल्याण्ड्समा रहेको कार्यालय भवनको साँचो अध्यक्ष अनिल पोखरेलले न्यूसाउथवेल्स संयोजक विनोद कुँवर र नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष संगीता चपागाईंलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन एनआरएन न्यूसाउथवेल्सका सचिव कल्याण खड्काले गरेका थिए । कार्यालयमा आफ्नै बोर्डरुमका साथै ५० जनासम्म बसेर एकैपटक कार्यक्रम गर्नसकिने हल रहेको छ । यहाँ नेपाली भाषाको कक्षा, नृत्य कक्षाका साथै विभिन्न सामूदायिक संघसंस्थाको कार्यक्रम गर्नेस्थलका रुपमा साथै एनआरएनको प्रशासनिक कार्यका लागि पनि प्रयोग गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु