Tuesday, September 15, 2026
Zenith Migration Education
Tuesday, September 15, 2026

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

Zenith Migration Education

चितवन: राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो ।

परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उहाँले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार पाँच सय ६० जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् । उहाँले भन्नुभयो, “अहिले दैनिक तीनदेखि चार सय सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । हाम्रो कोटा दिनमा एक सय ७० जनाको मात्र हो ।” सोवाग्राहीको चाप बढेसँगै एक महिनाका लागि अभियानका रूपमा बिहानबाट नै सेवा दिन थालिएको जनाउँदै उहाँले भन्नुभयो, “भीड कम नभए अभियानलाई निरन्तरता दिइने छ ।” परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेसँगै फोटो खिच्ने ‘स्टेशन’ थप गरिएको उहाँले बताउनुभयो । पहिला चारवटा मात्रै ‘स्टेशन’बाट सेवा दिइएकामा अहिले थप गरेर पाँचवटा बनाउँदा समेत चाप कम हुन नसकेको उहाँले बताउनुभयो ।

सरकारलले लागू गरेको सामाजिक सुरक्षा कोषसँगै वैदेशिक प्रयोजन र अन्य कामका लागि परिचयपत्र आवश्यक पर्ने भएपछि सेवाग्राहीको चाप बढेको उहाँले बताउनुभयो । परिचयपत्रको भीडले गर्दा अन्य सेवामा समेत प्रभाव पारेको भन्दै उहाँले हरेक पालिकामा शिविरको रूपमा अभियान चलाउने सोचमा प्रशासन रहेको जानकारी दिनुभयो । यस विषयमा विभागसँग छलफल चलिरहेको जनाउँदै उहाँले शिविर चलाउन सकेमा भीड कम गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु