Friday, September 18, 2026
Zenith Migration Education
Friday, September 18, 2026

१९ वर्षपछि ‘नारीको वेदना’ युट्युबमा, कर्मसँगै कलायात्रामा रमाउँदै नवीन घायल

Zenith Migration Education

सिड्नी । सन् २०१७ मा अस्ट्रेलिया आइपुगेका कलाकार नवीन घायल यतिबेला सिड्नीलाई कर्मथलो बनाएर व्यावसायिक तथा कलाकारिताको क्षेत्रमा सक्रिय छन्। उनले ‘पोखरा ड्राइभिङ स्कुल सिड्नी’ सञ्चालन गर्दै व्यावसायिक ड्राइभिङ इन्स्ट्रक्टरका रूपमा समेत आफ्नो पहिचान बनाएका छन्।

ड्राइभिङ पेशासँगै घायलले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिँदै आएका छन्। नेपालमा रहँदा उनले पोखरापत्र, जनमत, समाधान, चेतनापत्र, भिजन नेपालतालनगरी लगायतका पत्रिकामा रंग पत्रकारका रूपमा काम गरेका थिए। उनी हिमचुली एफएम पोखरामा समाचार सम्पादक तथा वाचकका रूपमा समेत सक्रिय थिए।

घायलले १६ भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् भने थुप्रै म्युजिक भिडियोमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरेका छन्।

करिब दुई दशकअघि आफ्नै लेखन तथा निर्माणमा तयार भएको सामाजिक तथा भावनात्मक चलचित्र ‘नारीको वेदना’ उनको सिर्जनात्मक यात्राको महत्वपूर्ण कृतिका रूपमा रहेको छ। महिला संवेदना, सामाजिक विभेद, छुवाछूत, एचआईभी/एड्स सचेतना तथा लागुऔषधको समस्याजस्ता सामाजिक विषय समेटिएको उक्त चलचित्र लामो समयपछि गत ११ सेप्टेम्बरदेखि युट्युबमार्फत दर्शकमाझ ल्याइएको हो।

युट्युबमा सार्वजनिक भएपछि चलचित्रले छोटो समयमै २३ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। लामो समयअघि निर्माण भएको आफ्नो सिर्जना नयाँ पुस्ताका दर्शकमाझ पुगिरहेको देख्दा घायल उत्साहित छन्।

अस्ट्रेलियालाई कर्मभूमि बनाएर ड्राइभिङ इन्स्ट्रक्टरको पेशासँगै कलाकारितालाई समेत निरन्तरता दिइरहेका घायल अस्ट्रेलियामै निर्माण भएको चलचित्र ‘पीआर’ मा ‘मोती’को भूमिकामा समेत देखिएका थिए।

उनका लागि ‘नारीको वेदना’को युट्युब रिलिज केवल पुरानो चलचित्र पुनः सार्वजनिक हुनु मात्र होइन, वर्षौंअघि सुरु भएको आफ्नो सिर्जनात्मक यात्रासँग पुनः जोडिने एउटा सुखद अवसरसमेत बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु