Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो

Zenith Migration Education

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो । करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनले विपद्को समयमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले १२ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।

अधिकारीले सदस्य विद्यालयहरूले नियमित सञ्चालन खर्च, शिक्षक–कर्मचारीको दायित्व तथा राज्यलाई बुझाउनुपर्ने कर व्यवस्थापन गर्दै उत्साहपूर्वक सहयोग गरेको बताए। अपेक्षा गरिएभन्दा बढी रकम संकलन भएको भन्दै उनले सहयोगको विवरणलाई पारदर्शी बनाइएको जानकारी दिए।

संकलित सहयोगको विवरण सम्बन्धित जिल्लाबाट प्रदेश र केन्द्रमा पठाइएको तथा त्यसको समग्र विवरण सरकारलाई समेत उपलब्ध गराइने प्याब्सनले जनाएको छ। सहयोग गर्ने प्रत्येक विद्यालय तथा संस्थालाई सरकारसँगको सहकार्यमा योगदानको कदरस्वरूप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताए।

प्याब्सनका महासचिव आरबी कटुवालले विपद्बाट प्रभावित आफ्ना सदस्य विद्यालयको पुनस्र्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार रसुवा र नुवाकोटमा रहेका प्याब्सनका पाँच सदस्य विद्यालय बाढीबाट गम्भीर रूपमा प्रभावित भएकाले ती विद्यालयको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।

भदौ महिनाको ३१ गते राति १२ सम्म संकलन हुने थप सहयोग रकममध्ये उक्त २ करोड रुपैयाँबाहेक बाँकी सम्पूर्ण रकमसमेत नेपाल सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिने कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु