सिड्नी।सिड्नीको अबर्नस्थित पहिलो नेपाली सम्बन्ध रेस्टुरेन्टले नेपालको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि शनिबार च्यारिटी ब्रेकफास्ट आयोजना गरेको छ।

बिहानदेखि मध्यान्हसम्म चलेको कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक क्यूआर कोड स्क्यान गरी आफूले इच्छाएको रकम सिधै सहयोग गरेका थिए।
भोटेकोसी बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम रेस्टुरेन्टकी सञ्चालक मीरा गुरुङको अग्रसरतामा भएको थियो।

कार्यक्रममा बरुड काउन्सिलकी काउन्सिलर सुकृति भट्टलगायत नेपाली समुदायका महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले प्रवासमा रहेर मातृभूमिमा परेको विपत्तिमा सहयोग जुटाउने सम्बन्ध रेस्टुरेन्टको पहलको प्रशंसा गरेका थिए।

‘विदेशमा रहे पनि मातृभूमिमा विपत्ति पर्दा आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं। सहभागीले आफूले चाहेको रकम सिधै प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सक्ने व्यवस्था गरेका थियौं,’ सञ्चालक मीरा गुरुङले भनिन्।

कार्यक्रममा सहभागीहरूले भोटेकोसी बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा उभिन पाउनु आफ्नो जिम्मेवारी र अवसर भएको बताएका थिए। सहभागीमध्ये केहीले वचन न्युजको ‘समाचारसँगै–सेवा पनि’ राहत अभियानमा समेत प्रत्यक्ष सहयोग गर्दै बाढीपीडित परिवारलाई राहत पुर्याउने अभियानमा जोडिएका छन्।

प्रवासमा रहेका नेपाली समुदायबाट बाढीपीडितका लागि सहयोग जुटाउने यस्ता पहलले विपत्तिमा परेका परिवारलाई राहत पुर्याउन थप सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।








