Friday, August 21, 2026
Zenith Migration Education
Friday, August 21, 2026

पाँचबुँदे सहमतिप्रति गरिमाका परिवारको असहमति

Zenith Migration Education

बारा — तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रशासन र आन्दोलनरत पक्षबीच भएको पाँचबुँदे सहमतिप्रति पीडित परिवारले असहमति जनाएको छ। मृतकका बाबु मनोज चौधरीले आफूहरूलाई जानकारी नै नदिई मध्यरातमा गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताएका छन्।

मनोजले गृहमन्त्री सुदन गुरुङ र कानुनमन्त्री सोबिता गौतम सिमरा आएर पीडित परिवारसँग प्रत्यक्ष छलफल गर्नुपर्ने माग गरेका छन्। नेपालको कानुन संशोधन गरी बालिका बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा कडा सजायको व्यवस्था गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उनको माग छ।

आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय नभएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने मनोजले बताएका छन्।

बिहीबार मध्यरातमा पथलैयामा आन्दोलनरत पक्ष र प्रशासनबीच पाँचबुँदे सहमति भएको थियो। तर सहमति गर्दा पीडित परिवारसँग कुनै छलफल वा अनुमति नलिइएको मनोजको भनाइ छ। परिवारको सहमतिबिनाको उक्त सम्झौता आफूहरूलाई स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन्।

— सीमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु