बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर भएको आन्दोलन पाँचबुँदे सहमतिपछि स्थगित भएको छ।
घटनाको विरोधमा पीडित परिवार, आफन्त, स्थानीयवासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले गर्दै आएका आन्दोलनका कार्यक्रम बिहीबार मध्यराति प्रशासन र पीडित पक्षबीच भएको वार्तापछि स्थगित गरिएको हो।
भदौ २ गते भएको घटनालाई लिएर पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा पीडित परिवार, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समितिबीच वार्ता भएको थियो।
वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारीलगायत सुरक्षा निकाय तथा प्रशासनका अधिकारीहरूको सहभागिता थियो।
लामो छलफलपछि पाँचबुँदे सहमति भएको हो। सहमतिअनुसार पीडित परिवारलाई उचित राहत तथा रोजगारी व्यवस्थापनका लागि स्थानीय तहको समेत सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गर्ने निर्णय भएको छ।
त्यस्तै, घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेकामाथि भइरहेको अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भए उनीहरूमाथि कानुनबमोजिम कडा कारबाही अघि बढाउने सहमति भएको छ।
जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण गरी भरपर्दो सुरक्षा वातावरण निर्माण गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति भएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा घटनामा लापरबाही गरेको आरोप लागेका सुरक्षाकर्मीमाथि आवश्यक छानबिन गरी कारबाही गर्ने मागसमेत सम्बोधन गर्ने सहमति भएको छ।
पाँचबुँदे सहमतिपछि पीडित पक्षले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग भने पीडित परिवार र स्थानीयवासीले राखेका छन्।
सीमा ठकुरी, बारा





