Thursday, August 20, 2026
Zenith Migration Education
Thursday, August 20, 2026

साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

Zenith Migration Education

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । 

प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका १५९ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनअन्तर्गत ४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । 

फरार प्रतिवादीबाट १२ वर्ष ६ महिना ११ दिन कैद सजाय कार्यान्वयन गराउनुका साथै १७ लाख ९१ हजार ३५० जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

साउनमा दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी ३५, संगठित तथा आर्थिक अपराधसम्बन्धी ८१, आत्महत्यासम्बन्धी २६, सामाजिक अपराधसम्बन्धी १२, चोरीसम्बन्धी छ र सवारी दुर्घटनासम्बन्धी छ वटा रहेका छन् । 

प्रहरीले भन्सार छली नियन्त्रण अभियानअन्तर्गत २ करोड २५ लाख ४४ हजार ६५६ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ । सो क्रममा १० जना र १८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

साउनमा लागुऔषध सम्बन्धी १८ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा २५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १४ किलो ३६८ ग्राम गाँजा, ३३ ग्राम २५८ मिलिग्राम ब्राउन सुगर, २१० ग्राम चरेस तथा विभिन्न प्रकारका ५५६ थान सुई तथा ट्याब्लेट बरामद गरेको जनाएको छ । 

हातहतियारतर्फ बुटवलबाट रिभल्भर र गोलीसहित एक जना पक्राउ परेका छन् । यस्तै, भैरहवामा प्रहरीको घुमुवा बनेर नक्कली रिभल्भर देखाउँदै रकम असुल्ने एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

शुद्धोधनमा सुनको सिक्री खोस्ने समूहलाई स्कार्पियोसहित बेलहियाबाट नियन्त्रणमा लिइएको तथा अवैध भीओआईपी कल बाइपास सञ्चालन गर्ने एक जनालाई विभिन्न उपकरण र सिमकार्डसहित पक्राउ गरिएको विवरणमा उल्लेख छ । सिद्धार्थनगर नगरपालिका–१२ बाट ५०० दरका १४० थान, अर्थात् ७० हजार रुपैयाँ बराबरका भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।

महिला तथा बालबालिकासम्बन्धी घटनामा साउन महिनामा घरेलु हिंसाका ८५ वटा उजुरी परेकोमा ५० वटा उजुरी मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ । स्थानीय तहगत रूपमा सबैभन्दा बढी घरेलु हिंसाका उजुरी बुटवल उपमहानगरपालिकामा १९ र सिद्धार्थनगर नगरपालिकामा १७ वटा परेका छन् । 

सो अवधिमा ११७ जना महिला, पुरुष तथा बालबालिका हराएकोमा प्रहरीको सक्रियतामा ५८ जना फेला परेका छन् । 

रुपन्देहीमा साउन महिनामा १५९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २१३ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३२६ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । 

कारबाहीबाट ५७ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

चन्दले अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ, अवैध भन्सार छली नियन्त्रण, लागुऔषध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर जिल्लाभर सुरक्षा गतिविधि सञ्चालन गरिएको जनाए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु