Thursday, August 20, 2026
Zenith Migration Education
Thursday, August 20, 2026

बालिका गरिमा हत्यापछि सिमरा अशान्त, प्रहरी कार्यालय घेराउ

Zenith Migration Education

बारा — जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सिमरा क्षेत्रमा तनाव बढेको छ। प्रहरीको खोजीकार्यमा लापरबाही भएको आरोप लगाउँदै आक्रोशित स्थानीयले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।

प्रदर्शनकारीले बालिका हराएपछि समयमै प्रभावकारी खोजी नगरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीमाथि कारबाही गर्न माग गरेका छन्।

स्थानीय र पीडित परिवारका अनुसार गरिमा साउन ३१ गते बिहानदेखि बेपत्ता भएकी थिइन्। उनका बुबाले समयमै प्रहरीमा लिखित जाहेरी दिए पनि सुरुवाती चरणमा खोजीकार्य प्रभावकारी नभएको स्थानीयको आरोप छ।

समयमै प्रहरी सक्रिय भएको भए बालिकालाई जीवितै उद्धार गर्न सकिने दाबी गर्दै स्थानीयले प्रहरीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्।

बालिकाको शव फेला परेपछि बुधबार दिउँसोदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडकखण्ड बिहीबार पनि सञ्चालनमा आउन सकेन। आन्दोलनरत स्थानीयले बिहानैदेखि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक अवरोधका कारण सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुहरू समस्यामा परेका छन्।

घटनाको विरोधमा जीतपुरसिमरा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयले बिहीबार शोकसभा आयोजना गर्दै शिक्षण संस्था बन्द गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालयहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

विद्यालयहरूले बालिकामाथि भएको घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको जनाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाइएको र सोही क्रममा उनीहरू पक्राउ परेको प्रशासनले जनाएको छ।

स्थानीयले उठाएको प्रहरीको लापरबाहीसम्बन्धी प्रश्नलाई जिल्ला प्रशासन कार्यालयले गम्भीरतापूर्वक लिएको प्रजिअ मिश्रले बताएका छन्। उनका अनुसार घटनामा प्रहरीको भूमिका र सम्भावित कमजोरीबारे छानबिन भइरहेको छ।

छानबिनका क्रममा प्रहरी अधिकारीको समेत कमजोरी वा लापरबाही पुष्टि भए विभागीय कारबाही गरिने प्रशासनले जनाएको छ।

तर, दुई जना पक्राउ परिसकेको जानकारी प्रशासनले दिए पनि स्थानीयको आक्रोश मत्थर भएको छैन। आन्दोलनरत स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कानुनी कारबाही र अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि समेत कारबाहीको माग गरेका छन्।

बालबालिकाको सुरक्षा र घटनाको न्यायिक निरूपण सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

आन्दोलनका कारण सिमरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ।

— सिमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु