Friday, August 7, 2026
Zenith Migration Education
Friday, August 7, 2026

शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, परिणाममुखी कार्यसम्पादनमा जोड

Zenith Migration Education

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न गरेको छ । 

बैठकले मन्त्रालयको समग्र कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै आगामी वर्ष परिणाममुखी कार्यसम्पादन, सेवा प्रवाहमा सुधार तथा शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

बैठकमा आर्थिक वर्षभरि मन्त्रालय र मातहतका निकायले हासिल गरेका प्रगति, विकास आयोजनाको कार्यान्वयन अवस्था, सेवा प्रवाह, बजेट खर्च, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा समीक्षा गरिएको थियो। कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्दै समाधानका उपाय र आगामी वर्षका प्राथमिकताबारे समेत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्य संस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षाको पुनः संरचनाको खाका शीघ्र कार्यान्वयनमा लैजान, सबै कार्यक्रमलाई परिणाममुखी बनाउन तथा शिक्षकसँग सम्बन्धित समस्याको समाधानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए ।

शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले मन्त्रालयको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै अब फरक कार्यशैली अपनाएर स्पष्ट परिणाम देखिने गरी काम गर्नुपर्ने बताए । उनले उच्च शिक्षाको पुनः संरचनालाई अभियानका रूपमा अघि बढाउन, कार्यसम्पादन सूचक (इन्डिकेटर) लाई पुनः परिभाषित गर्न तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई क्रमशः प्रदेश स्तरबाट सञ्चालन गर्ने विषयमा तयारी गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु