Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो :सांसद ढकाल

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले निजी क्षेत्र, उद्यमी तथा व्यवसायीहरूलाई सरकारप्रति विश्वास गर्न आग्रह गर्दै विगतको कुशासन र नीतिगत बिचौलियाको प्रभावबाट मुलुक बिस्तारै बाहिर निस्किरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित १८औँ कर्पोरेट बिजनेस समिट तथा अवार्ड २०८३ कार्यक्रममा बोल्दै सांसद ढकालले कठिन आर्थिक परिस्थितिका बीच पनि राष्ट्रलाई कर तिरिरहेका करदाता, उद्यमी तथा किसानप्रति सम्मान व्यक्त गर्दै आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।

उनले आफू किशोर अवस्थादेखि नै उद्यम, व्यवसाय र पुँजी बजारसँग जोडिएको व्यक्ति भएको उल्लेख गर्दै व्यवसायीहरूले भोगिरहेका समस्या र चुनौतीहरूबारे आफू जानकार रहेको बताए। विगतका सरकारहरूको आलोचनाभन्दा पनि समाधान खोज्ने पक्षमा रहेको बताउँदै उनले अहिले देश परिवर्तनको महत्वपूर्ण चरणमा रहेको धारणा राखे।

ढकालले विगत ३५ वर्षदेखि राज्य संयन्त्रमा मौलाएको कुशासन, दलीयकरण र नीतिगत बिचौलियाको प्रभावले निजी क्षेत्रलाई ठूलो क्षति पुगेको दाबी गरे। व्यवसायीहरूले कर तिर्नुका साथै विभिन्न तहमा अनावश्यक दबाब र झन्झट पनि भोग्नुपरेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले कार्यक्रममा व्यवसायी कमलेश अग्रवालले प्रयोग गरेको ‘मनको बाघ’ प्रसंगलाई जोड्दै भने, ‘मनको बाघ भ्रम हो, वनको बाघ सत्य हो। वनका बाघहरू ३५ वर्षसम्म सिंहदरबारमा बसे। तिनै कारणले नीति निर्माणदेखि कार्यान्वयनसम्म विकृति बढ्यो र निजी क्षेत्रले दुःख पायो।’

उनले देशमा ‘पोलिसी ब्रोकर’ को प्रभाव बढ्दा नीतिहरू वास्तविक उद्यमी र लगानीकर्ताको हितमा बन्न नसकेको उल्लेख गरे। निजी क्षेत्रले दिएका सुझावहरू प्रत्यक्ष रूपमा नीति निर्माणमा नपुगी बिचौलियामार्फत विकृत हुने अवस्था रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताए।

सरकार गठन भएको ८३ दिन मात्र भएको स्मरण गराउँदै उनले छोटो अवधिमै केही सकारात्मक संकेत देखिएको दाबी गरे। अनावश्यक र अप्रासंगिक कानुनहरू हटाउने प्रयास, प्रशासनिक सुधार तथा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो।

सांसद ढकालले सरकारले ल्याएको बजेट निजी क्षेत्रलाई विश्वासमा लिएर तयार गरिएको दाबी गरे। बजेटको सफल कार्यान्वयन अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै उनले सरकार त्यसतर्फ गम्भीर रहेको बताए। उनले अर्थतन्त्र चलायमान बनाउन कर प्रणालीलाई थप व्यवस्थित र व्यवसायमैत्री बनाउने प्रयास भइरहेको जानकारी दिए।

कर प्रणालीबारे बोल्दै उनले राज्यले मौरीले फूलबाट मह संकलन गरेजस्तै व्यवसायलाई क्षति नपु¥याई कर उठाउनुपर्ने धारणा राखे। ‘व्यवसाय फस्टाएपछि मात्रै राज्यको राजस्व बढ्छ,’ उनले भने, “व्यवसायीलाई अनावश्यक बोझ थोपर्ने होइन, उत्पादन र लगानी बढ्ने वातावरण सिर्जना गर्नुपर्छ।’

उनले निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गरिरहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि संसद र सरकार दुवै तहमा पहल भइरहेको बताए। लगानी, उद्योग, व्यापार र आर्थिक गतिविधि विस्तारका लागि आवश्यक कानुनी सुधारलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु