Saturday, June 13, 2026
Zenith Migration Education
Saturday, June 13, 2026

सिड्नीमा ‘नेप्लिज फुटबल सेलिब्रेसन डे २०२६’ आयोजना हुँदै,

Zenith Migration Education

सिड्नी, असार २८ – अष्ट्रेलियामा रहेका नेपाली फुटबलप्रेमी तथा समुदायलाई लक्षित गर्दै ‘नेप्लिज फुटबल सेलिब्रेसन डे २०२६’ आयोजना हुने भएको छ। नेपाली समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्ने, युवा प्रतिभाको विकासमा टेवा पुर्‍याउने तथा अष्ट्रेलियाली व्यावसायिक फुटबलसँग जोड्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस वर्षको कार्यक्रमको मुख्य आकर्षण अष्ट्रेलियाको प्रतिष्ठित फुटबल क्लब Western Sydney Wanderers FC सँगको सहकार्य रहेको आयोजकले जनाएको छ। नेपाली समुदाय र वेस्टर्न सिड्नी वान्डरर्सबीचको यो सहकार्यलाई अष्ट्रेलियास्थित नेपाली फुटबल समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कार्यक्रम १४ जुन २०२६ मा Wanderers Football Park, Football Drive, Rooty Hill NSW 2766 मा आयोजना हुनेछ। प्रतियोगिता ५ विरुद्ध ५ फुटसल ढाँचामा सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत बार्बेक्यु (BBQ), सांस्कृतिक सहभागिता तथा फुटबलमार्फत स्मरणीय क्षणहरू साटासाट गर्ने विशेष गतिविधिहरू पनि समावेश गरिएका छन्।

वेस्टर्न सिड्नी क्षेत्रमा उल्लेख्य नेपाली समुदायको बसोबास रहेको छ। सोही क्षेत्रको प्रतिनिधित्व गर्ने वान्डरर्ससँगको सहकार्यले नेपाली खेलाडी तथा युवाहरूलाई व्यावसायिक फुटबल संरचनासँग नजिकबाट परिचित हुने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। साथै, भविष्यमा थप सहकार्य र प्रतिभा विकासका सम्भावनासमेत खुल्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताका विजेता टोलीले वेस्टर्न सिड्नी वान्डरर्ससँग सम्बन्धित विशेष फुटबल अनुभव प्राप्त गर्ने अवसर पाउनेछन्। यसले नेपाली युवाहरूलाई उच्चस्तरीय फुटबलतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ।

कार्यक्रम सफल बनाउन ANFA Australia का अध्यक्ष तथा कार्यक्रम अध्यक्ष सुबास तामाङले नेतृत्वदायी भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ। नेपाली फुटबल समुदाय, साझेदार संस्था तथा वान्डरर्सबीच सहकार्यको वातावरण निर्माण गर्न उनको योगदान महत्वपूर्ण रहेको बताइएको छ।

त्यसैगरी, Youthify का अध्यक्ष तथा कार्यक्रम संयोजक निराजन नरसिंह राणाले कार्यक्रम व्यवस्थापन, साझेदारी समन्वय, युवा सहभागिता तथा सामुदायिक पहुँच विस्तारमा सक्रिय भूमिका खेलेका छन्। उनका अनुसार यो कार्यक्रम केवल फुटबल प्रतियोगिता मात्र नभई नेपाली युवाका लागि अवसर, प्रेरणा र नेटवर्किङको साझा मञ्चसमेत हो।

ANFA Australia, Youthify, Western Sydney WanderersCultural Plus को संयुक्त आयोजनामा हुन लागेको ‘नेप्लिज फुटबल सेलिब्रेसन डे २०२६’ ले खेलकुदमार्फत नेपाली समुदायको एकता, पहिचान र सम्भावनालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

आयोजकहरूले सम्पूर्ण नेपाली समुदाय, युवा खेलाडी, फुटबल समर्थक तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई नेपाली फुटबलको विकास र सामुदायिक एकताको यस विशेष अवसरको हिस्सा बन्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु