Friday, May 22, 2026
Zenith Migration Education
Friday, May 22, 2026

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

Zenith Migration Education

इरान र अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ । विदेश तथा देशभित्रका धेरै विवादास्पद सैन्य कारबाहीसँग जोडिएका ब्रिगेडियर जनरल अहमद वाहिदी अहिले इरानको रणनीतिक निर्णय केन्द्र नजिकैको प्रमुख व्यक्तित्वका रूपमा देखिएको बताइएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित अहमद वाहिदीलाई अमेरिकासँग सम्भावित युद्ध अन्त्यसम्बन्धी वार्तामा इरानको कडा र अडिग रणनीति तयार पार्ने प्रमुख पात्रमध्ये एक मानिएको छ । उनलाई सर्वोच्च नेता अयातुल्ला मोहतबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने सीमित समूहभित्र रहेको विश्वास गरिएको छ । रिपोर्टअनुसार फेब्रुअरी २८ मा भएको इजरायली आक्रमणमा अयातुल्ला मोहतबा खामेनी रहेका थिए र उनका पिता अयातुल्ला अली खामेनीको मृत्यु भएको पनि दाबी गरिएको छ ।

इरानभित्र सत्ता संरचनाको शीर्ष तहमा रहेको अनिश्चितता र प्रतिस्पर्धाबीच निर्णय प्रक्रिया अत्यन्तै जटिल बनेको देखिन्छ । युद्ध सुरु भएयता इरानको उच्च धार्मिक शासन संरचनाभित्र शक्ति सन्तुलन निरन्तर बदलिँदै आएको र प्रभावशाली व्यक्तिहरूको पहुँच पनि परिवर्तन भइरहेको विश्लेषण गरिएको छ । युद्ध सुरु हुनुभन्दा केही हप्ताअघि फेब्रुअरी ८ यता वाहिदी सार्वजनिक रूपमा नदेखिएको उल्लेख छ।

लामो समयदेखि सुरक्षा संरचनाभित्र सक्रिय रहेका वाहिदीले इरानको क्षेत्रीय मिलिसिया समूहहरूलाई समर्थन गर्ने नीतिहरू निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनीमाथि सन् १९९४ मा अर्जेन्टिनाको यहुदी केन्द्रमा भएको बम विस्फोटमा संलग्नताको आरोप समेत लगाइएको छ । साथै सन् २०२२ मा देशभित्र भएको प्रदर्शन दमनमा सुरक्षा निकाय परिचालनको नेतृत्व गरेको आरोप पनि उनीमाथि छ ।

युद्ध सुरु भएपछि गार्ड नेतृत्वमा पुगेका वाहिदीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली र पर्सियन खाडी क्षेत्रमा सक्रिय साना नौसैनिक इकाइहरूको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । उनी नेतृत्वमा आएपछि इरानको सैन्य रणनीति अझ आक्रामक बनेको विश्लेषकहरूको टिप्पणी छ ।

“वाहिदी र उहाँको नजिकको समूहले इरानको सैन्य प्रतिक्रिया मात्र नभई, वार्ता रणनीतिमा पनि नियन्त्रण बढाएका छन्”, वासिङ्टनस्थित इन्स्टिच्युट फर द स्टडी अफ वारले जनाएको छ ।

इरानको रणनीतिमा हर्मुज जलघाँटी नियन्त्रण, तेल तथा ग्यास आपूर्ति अवरुद्ध गर्ने क्षमता र खाडी क्षेत्रमा दबाब सिर्जना गर्ने नीति समावेश रहेको बताइन्छ । साथै खाडी अरब राष्ट्रका ऊर्जा संरचना र पूर्वाधारलाई लक्षित आक्रमणहरू पनि बढेको उल्लेख गरिएको छ ।

वार्ता प्रक्रियामा इरानले अत्यधिक समृद्ध युरेनियम भण्डार आत्मसमर्पण गर्नुपर्ने अमेरिकी मागको प्रतिवाद गर्दै आफ्नो ऊर्जा सुरक्षा र रणनीतिक अधिकारलाई केन्द्रमा राखेको छ । विश्लेषकहरूका अनुसार यो रणनीति इरानको दीर्घकालीन दबाब–राजनीतिक दृष्टिकोणसँग मेल खाने देखिन्छ ।

न्युयोर्कस्थित सौफान ग्रुपका वरिष्ठ अनुसन्धानकर्ता केनेथ काट्जम्यानले वाहिदीको सोचलाई ‘अनन्त प्रतिरोध र निरन्तर सङ्घर्षको मानसिकता’ का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार वाहिदीले प्रत्येक चरणमा अमेरिका र उसका नीति निर्माणकर्तालाई चुनौती दिने दृष्टिकोण राखे।

सन् २०२६ को जनवरीमा वाहिदीले इरानको रक्षा क्षमताले कुनै पनि शत्रु सैन्य कारबाहीलाई उच्च जोखिममा पुर्‍याउन सक्षम भएको दाबी गरेका छन्।

यसैबीच अप्रिलमा पाकिस्तानमा भएको वार्तामा इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी टोलीबीच छलफल भए पनि कुनै सहमति हुन सकेन । त्यसपछि इरानभित्रै वार्ता टोलीमाथि आलोचना बढेको थियो ।

त्यसपछि वाहिदी वार्ताका लागि मुख्य सम्पर्क विन्दुका रूपमा उभिएको एक क्षेत्रीय अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ । सर्वोच्च नेताको स्वास्थ्य र अवस्थाबारे अनिश्चितताले शक्ति केन्द्रहरूबीच प्रतिस्पर्धा बढाएको पनि बताइएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेतासँग करिब दुई घण्टा भेट गरेको विवरण सार्वजनिक भएपछि आन्तरिक शक्ति सन्तुलनबारे थप चर्चा भएको थियो । विश्लेषक होली डाग्रेसका अनुसार वर्तमान नेतृत्व अझ कठोर र गार्ड–अनुकूल नीतिमा उन्मुख देखिन्छ ।

राजनीतिक विश्लेषक कामरान बुखारीका अनुसार वाहिदीजस्ता व्यक्तिहरूले केवल युद्ध व्यवस्थापन मात्र नभई राज्य संरचना र उत्तराधिकार प्रक्रियासमेत पुनःनिर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु