जिल्ला प्रहरी परिसर ललितपुरले परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका सम्बन्धमा केही अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
परिसरका अनुसार सरुवा भएका एक प्रहरी कर्मचारीलाई सम्बन्धित स्थानमा रवाना लिई जान पटक–पटक अनुरोध गरिएको र प्रशासन शाखाबाट नियमित आन्तरिक प्रशासनिक प्रक्रिया अनुसार रवाना दिइएको सामान्य विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमा हातपात तथा कुटपिट भएको भनी भ्रामक तथा अतिरञ्जित समाचार सम्प्रेषण गरिएको पाइएको छ।
यस प्रकारका भ्रामक समाचारले कर्तव्यनिष्ठ, अनुशासित तथा जिम्मेवार प्रहरी अधिकृतको आत्मसम्मानमा चोट पुग्ने, मनोबल कमजोर हुने तथा प्रहरी संगठनप्रति गलत सन्देश प्रवाह हुने भएकाले यसप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
साथै, यस्ता अतिरञ्जित तथा भ्रामक सूचना प्रचार–प्रसार नगर्न नगराउन सबैमा अनुरोध गरिएको छ। यस्ता गतिविधिका सम्बन्धमा आवश्यक छानबिन गरी सम्बन्धित निकायमा कानुनी प्रक्रिया अघि बढाइने समेत जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।



