सिड्नी — अर्बन नेप्लिज कम्युनिटीद्वारा ग्रानभिल पार्कमा मंगलबार आयोजित ‘नेपाली नयाँ वर्ष २०८३ धमाका’ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपालकी चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्तको प्रस्तुति मुख्य आकर्षण बनेको थियो।

दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा हजारौँ नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा अष्ट्रेलियन समुदायका प्रतिनिधि, विभिन्न संघसंस्थाका अगुवा तथा आबर्न पुलिस एरिया कमान्डका कमान्डर सुपरिन्टेन्डेन्ट रोबर्ट टोयण्टन सहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालका गायक रमेशराज भट्टराईसहित अन्जु पन्त, सिर्जना खत्री, जिनिशा गौतम, श्रेया ज्ञवाली र सरिना सैंजु लगायत कलाकारहरूले प्रस्तुति दिएका थिए। ‘द एरियल्स नेपाल’ र ‘लालिगुराँस डान्स ग्रुप’का प्रस्तुति पनि आकर्षणको केन्द्र बनेका थिए।
अन्जु पन्तले ‘नबिर्से तिमीलाई, नपाए तिमीलाई’ लगायतका गीत प्रस्तुत गर्दा दर्शकहरू उत्साहित बनेका थिए। कार्यक्रमभर दर्शकको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रमको सञ्चालन अजिना कार्की, डोल्मा लामा र सबला बस्नेतले गरेका थिए।
कार्यक्रममा नारीनिकुञ्ज अष्ट्रेलिया (NSW) की कोअर्डिनेटर आशा श्रेष्ठ, एनआरएनए अष्ट्रेलिया (NSW) की कोअर्डिनेटर उषा किरण बरिया पोखरेल, सञ्चारकर्मी हेमन्त काफ्ले तथा (ENJA) का अध्यक्ष कृष्ण तिवारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कमान्डर सुपरिन्टेन्डेन्ट रोबर्ट टोयण्टनले यस्ता कार्यक्रमले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने बताए। उनले आयोजकलाई धन्यवाद पनि दिएका थिए।

त्यस्तै, अन्जु पन्तले सिड्नीमा पाएको माया र समर्थनप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले प्रवासमा नेपाली पहिचान जोगाउन सहयोग पुग्ने बताएका थिए।











