Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

आजदेखि ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा

Zenith Migration Education

काठमाडौँ । आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा आएका छन् । प्रणय दिवसलाई लक्षित गर्दै शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।

प्रणय दिवसलाई लक्षित गरी प्रदर्शन भएका दुवै चलचित्र प्रेमकथामा आधारित भए पनि ‘रमिताको पिरती’ लाई निर्माण पक्षले ‘ब्रेकअप स्टोरी’ भनेर प्रचारप्रसार गरिरहेको छ । उक्त चलचित्रकी निर्देशक सुदिप्ताका अनुसार चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ भएपछिको कथालाई देखाइएको छ ।

उनले भनिन्, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छिन् वा साचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको चलचित्र हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नवपुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।”

उनले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताइन् । चलचित्रमा ‘रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गरेकी छन् । यस चलचित्रमा उनीसँगै गायनमा स्थापित भएका गायक समीर श्रेष्ठ अभिनेताका रूपमा प्रस्तुत भएका छन् । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, थिन्ले लामोलगायतका कलाकारले अभिनय गरेका छन् ।

आजदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ मार्फत दुई अनुहार अविशेक खड्का र आकृति राजभण्डारीले अभिनयको सुरुआत गरेका छन् । उक्त चलचित्र ‘जेनजी पुस्ता’ को प्रेम कथामा तयार भएको निर्देशक दिनेश राउतले जानकारी दिए ।

उनले भने, “नयाँ पुस्तालाई चलचित्र भवनमा आकर्षित गर्न उहाँहरूको कथा उहाँकै उमेर समूहका कलाकारमार्फत प्रस्तुत गर्नुपर्छ भन्ने लागेर चलचित्र तयार गरेका छौँ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई समेत स्थान दिइएको छ । नयाँ पुस्ताको प्रेममा देखिने भावनात्मक सम्बन्धलाई पर्दामा प्रस्तुत गरेको छु ।”

चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु