वासिङ्टन । भेनेजुएलाका शक्तिशाली शासक निकोलस मदुरोलाई अपदस्थ गरेपछि अमेरिकाले आफूलाई पाखा लगाए पनि ‘उपयुक्त समय आएपछि’ राष्ट्रपतिमा निर्वाचित हुने भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मदुरोका पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई तेलको धनी देशको अन्तरिम नेताको रूपमा समर्थन गरेका छन् ।
“मलाई विश्वास छ, म सही समय आएपछि भेनेजुएलाको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित हुनेछु,” मचाडोले शुक्रबार वाशिङ्गटनमा ट्रम्पसँग भेटेपछि ‘फक्स न्यूज’को ‘फक्स एन्ड फ्रेन्ड्स शो’मा भने । मचाडोको पार्टीले सन् २०२४ को निर्वाचन परिणाम घोषणामा धाँधली गरेको (निर्वाचन चोरेको) प्रमाण प्रस्तुत गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मचाडोलाई भेनेजुएलाका जनताबीच पर्याप्त समर्थन नभएको भन्दै भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँचको लाइनमा अडिग रहेसम्म रोड्रिगेजसँग सहकार्य गर्न इच्छुक देखेका छन् । “म मेरो देशको सेवा गर्न चाहन्छु र मसँग त्यो जनमतछ,” मचाडोले फक्सलाई भनिन् ।
नोबेल पदक
बिहीबार ५८ वर्षीया माचाडोले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार पदक प्रदान गर्ने बताएकी थिइन् । “उहाँ (राष्ट्रपति ट्रम्प) यसको लागि योग्य हुनुहुन्छ,” उनले भनिन्, “यो धेरै भावनात्मक क्षण थियो, मैले भेनेजुएलाका जनताको तर्फबाट नोबेल शान्ति पुरस्कार पदक उहाँलाई प्रदान गर्ने निर्णय गरेँ ।”
ह्वाइट हाउसको भोजपछि ट्रम्पले उक्त पदक स्वीकारेका थिए वा थिएन भन्ने तत्काल स्पष्ट भएको छैन । नर्वेको नोबेल समितिले आफ्नो पुरस्कार हस्तान्तरण गर्न नसकिने बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आठवटा युद्ध रोक्ने प्रयासका कारण गत वर्षको नोबेल शान्ति पुरस्कार जित्नका लागि कडा अभियान चलाएका थिए भन्ने दावीहरू विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । यद्यपि, मचाडोलाई उपाधि दिने घोषणा गरियो र लामो भूमिगत जीवनपछि गत महिना आफ्नो पुरस्कार लिन उनी ओस्लोमा पुगेका थिए । उनी भेनेजुएलाबाट गोप्यरूपमा नै डुङ्गाबाट भागी ओस्लो पुगेको जनाइएको छ।
ट्रम्प र रोड्रिग्वेजबीच बुधबार पहिलो टेलिफोन वार्ता भएको थियो र ह्वाइट हाउसका अनुसार ‘रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्न तयार’ देखिएको छ । यद्यपि भेनेजुएलामा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै रोड्रिगेजले भने, “आफ्नो सरकार वाशिङ्गटनको विरुद्धमा खडा हुनेछ।”
उनले बिहीबार भनेका थिए, “हामीलाई थाहा छ, तिनीहरू धेरै शक्तिशाली छन् । हामी राजनीतिक संवादको माध्यमबाट कूटनीतिक रूपमा उनीहरूको सामना गर्न डराउँदैनौँं ।”



