अमेरिका । अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्कर कब्जा गरेको छ । अमेरिकी साउदर्न कमाण्डकाअनुसार जोइन्ट टास्क फोर्स साउदर्न स्पियरका मरिन र नाविकहरूले अमेरिकी गृह सुरक्षा विभागको सहयोगमा ‘यूएसएस जेराल्ड आर फोर्ड’ बाट प्रस्थान गरी मोटर/ट्याङ्कर भेरोनिकालाई बिना कुनै अवरोध नियन्त्रणमा लिएको हो ।
कमाण्डले स्पष्ट पारेको छ कि भेनेजुएलाबाट उचित र कानूनी रूपमा समन्वय गरिएको तेल मात्र बाहिर जाने अनुमति दिइनेछ र ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा प्रतिबन्धित जहाजहरू विरुद्धको कारबाहीलाई निरन्तरता दिनेछ ।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार यो कारबाहीले भेनेजुएलाको तेल निर्यातमा ठूलो प्रभाव पारेको छ र कच्चा तेलको लोड सामान्य स्तरको तुलनामा करिव आधाले घटेको छ । हाल भेनेजुएलाका बन्दरगाहहरूमा अमेरिका जाने र स्थानीय रिफाइनरीहरूका लागि मात्र तेल लोड भइरहेको छ ।
अमेरिकी ऊर्जा सचिव क्रिस राइटले गत हप्ता अमेरिकाले भेनेजुएलाको तेल उत्पादनको बिक्रीलाई अनिश्चितकालका लागि नियन्त्रण गर्ने योजना बनाएको जानकारी दिएका थिए ।



